Photo: Armed police force nepal किमाथाङ्का,रासस । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल-चीन सिमानामा सीमास्तम्भको निरीक्षण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीसहितको जिल्ला सुरक्षा टोलीको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ पर्ने नेपाल-चीन सिमानामा रहेका तीन वटा सीमास्तम्भको निरीक्षण गरेको हो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलसहितको जिल्ला सुरक्षा टोलीले थियो ।
टोलीले ६८, ६९ र ७० नम्बरका तीन वटा सीमास्तम्भको निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । सङ्खुवासभामा २१ वटा सीमास्तम्भ रहेका छन् । गत जेठ आएको बाढीले ७१÷१ को नेपाल–चीन सीमास्तम्भ बगाएर बेपत्ता बनाएको छ ।
भोटखोला-१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सिमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ छिमेकी चीनको भूभाग सँग जोडिएका छन् । त्यसैगरी जिल्ला सुरक्षा टोलीले खाँदबारी–किमाथाङ्का सडकखण्ड रुटमा पर्ने मतदानस्थल, बोडर आउट पोष्ट किमाथाङ्का बिओपी र विभिन्न प्रहरीचौकीसमेत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो ।
प्रजिअसहितको टोलीले चीनतर्फका काउण्टर पार्टसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र विपद् व्यवस्थापनका सम्बन्धमा सूचना आदानप्रदान, भन्सार कार्यालय किमाथाङ्काको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गरेको छ ।
टोलीले किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन जग्गा मुआब्जा र आयोजनासँग नागरिक सुनुवाइ र शान्ति सुरक्षा, सडक तथा विभिन्न आयोजना तथा स्थानीय सरोकारका विषयमा अन्तरक्रियासमेत गरेको प्रजिअ थपलियाले बताउनुभयो । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।
विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्का १६२ किलोमिटरको दूरीमा पर्दछ ।
यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ ।