सिन्धुली । वरिष्ठ कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोले गुरुङको शालिक अनावरण गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीमा रहेको सिन्धुली कला घरमा शालिक निर्माण गरिएको हो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा आज आयोजित समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका निवर्तमान प्रतिनिधिसभाका सदस्य लेखनाथ दाहालले दुवै शालिकको अनावरण भएको थियो ।
नेपाली तथा तामाङ चलचित्रहरु अभिनय गरेर चर्चित बन्नुभएका वरिष्ठ कलाकार स्व.जयनन्द लामाको गीत संगीतमा पनि उत्तिकै योगदान रहेको छ । यसैगरी स्व.इन्दिरा गोलेले पाँच हजार तामाङ सेलो तथा नेपाली लोकगीतमा स्वर दिनुभई नेपाली संगीत क्षेत्रको उत्थानमा उल्लेखनीय योगदान प्रदान गर्नुभएको थियो ।
उहाँहरुको सोही योगदानलाई जीवन्त राख्न हरिहरपुरगढी गाउँपालिकाले शालिक निर्माण गरी सिन्धुली कला घरमा स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो । यस कार्यमा सहकार्य गर्ने सिन्धुली कला घरलाई उहाँले आभारसमेत व्यक्त गर्नुभयो ।
यस्तै प्रमुख अतिथि लेखनाथ दाहाल (राजन)ले वरिष्ठ कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोलेको शालिक स्थापना गरेर उहाँहरुको योगदानलाई जीवन्त राख्ने कार्यको अगुवाई गरेकोमा हरिहरपुरगढी गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वरिष्ठ कलाकारद्वयले निरन्तर गर्नुभएको संघर्ष र समर्पणले नै उहाँहरुलाई यो उचाईमा पु¥याएको उल्लेख गर्नुहुँदै नयाँ पुस्ताका कलाकारहरुले प्रेरणाको स्रोतको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ,सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य फुलमान बल,कमलामाई नगरपालिका उपप्रमुख मन्जु देबकोटा,घ्याङलेख गाउँपालिका उपाध्यक्ष शंकरमान घलान, हरिहरपुरगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्य लगायतको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा चर्चित तथा नयाँ कलाकारबाट विभिन्न सांगीतिक प्रस्तुतिहरु राख्नुभएको थियो । यसैगरी सिन्धुली कला घरका कलाकारहरुबाट विशेष प्रस्तुति प्रस्तुत गरिएको थियो ।