फोटो हरिहरपुरगढी गाउँपालिका
सिन्धुली । वरिष्ठ कलाकारद्वय जयनन्द लामा र इन्दिरा गोले गुरुङको शालिक अनावरण गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीमा रहेको सिन्धुली कला घरमा शालिक निर्माण गरिएको हो ।
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा आज आयोजित समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका निवर्तमान प्रतिनिधिसभाका सदस्य लेखनाथ दाहालले दुवै शालिकको अनावरण भएको थियो ।
स्व. वरिष्ठ कलाकार जयनन्द लामा: पाँच दशकको योगदान
वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको २०७८ फागुन १० गते ६६ वर्षको उमेरमा निधन भएको थियो ।लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल हुनुहुन्थ्यो ।
‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आउँनु भएको थियो ।
वरिष्ठ कलाकार लामाको चलचित्र यात्रा विसं २०३० मा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गर्नुभएको थियो । स्व.लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशन पनि गर्नुभएको थियो । स्व. लामाले एक सयभन्दा बढी चलचित्रमा अभियन गर्नुभएको थियो । दर्जनौँ टेलिचलचित्र, म्युजिक भिडियो, हाँस्य टेलिशृङ्खलामा पनि अभिनय गर्नुभएको थियो । विभिन्न विद्यालयमा सङ्गीत गुरुका रूपमा क्रियाशिल हुनुभएको थियो ।
स्व. वरिष्ठ गायिका इन्दिरा गोले, जसले पाँच हजार गीतमा आवाज दिए
वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको २०८२ भदौं १८ गते निधन भएको हो । उहाँको क्यान्सर रोगका कारण निधन भएको थियो । २०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँनुभयो । उहाँको स्वरमा चाँगुनारायण थान, ‘घुम्तीनीर लेट भयो’,जाइफूलको बासना, घर त छाउनीमा, ‘आज मलाई उनीको पछ्यौरी’, सफा ट्याम्पुरी र तामाङ भाषाका सम्पूर्ण गीत अहिले पनि गुन्जीरहन्छन् । काँठेसँगै तामाङ सेलो, लोकदोहोरी, देउडा भाषा, आधुनिकसहित थुप्रै गीत उनले गाएकी थिइन्। उनी २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित भारदेउमा जन्मिनुभएको हो ।
स्व.इन्दिराले आफ्नो गायन करियरको सुरुवातमा रेडियो नेपालमा स्वर परीक्षा दिनुभएको थियो । उक्त परीक्षामा उत्तीर्ण भएपछि सुरु भएको उहाँको गायन यात्रा पाँच हजार गीतमा स्वर दिनुभयो । नेपाल तामाङ कलाकार संघको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभएको स्व. गोलेले तामाङ संस्कृतिको संरक्षण र सम्बद्र्धनमा संगीत क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 




