सिन्धुली । आज देखि सिन्धुलीको मरिणमा ‘ मरिण महोत्सव–०८२ ’ सुरु भएको छ । उद्योग वाणिज्य संघ मरिणको आयोजना तथा मरिण गाउँपालिकाको आर्थिक सहयोगमा पाँचौं मरिण महोत्सव सुरु भएको हो ।
आज महोत्सव उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले पालिकाको पर्यटन क्षेत्रमा टेवा पुग्ने बताउनुभयो ।
विशेष अतिथि गाउँपालिका उपाध्यक्ष विमला माझी रहनु भएको महोत्सव उद्घाटनमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभएको थियो । महोत्सव मार्फत मरिण क्षेत्रका मौलिक संस्कृति, कला, परम्परा तथा स्थानीय उत्पादनलाई राष्ट्रियस्तरसम्म चिनाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ ।
पछिल्लो समय मरिण क्षेत्र सांस्कृतिक शहरका रूपमा विकसित हुँदै गएको । स्थानीय सरकारद्वारा ऐतिहासिक पञ्चकन्या पोखरीको भौतिक पूर्वाधार निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन दिनानुदिन बढ्दै गएको छ ।
मदन भण्डारी राजमार्गको सहज पहुँच, हरियाली वातावरण र प्राकृतिक सौन्दर्यले मरिण क्षेत्रको पर्यटन सम्भावनालाई थप टेवा पुर्याएको छ। यही सम्भावनालाई उजागर गर्दै महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास आयोजकले लिएको छ ।
महोत्सव अवधिभर सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, व्यापारिक स्टल, मनोरञ्जनात्मक गतिविधि तथा विविध कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।