काठमाडौं । नेपाल तामाङ घेदुङको दसौं संघीय महाधिवेशन आगामी फागुन २२ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा शनिबार संघीय कार्यालय, चुच्चेपाटीमा बसेको घेदुङको नवौं संघीय कार्यसमिति बैठकले फागुन २२-२४ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । 'आजको बैठकले नेपाल तामाङ घेदुङको वर्तमान नवौं कार्यसमितिलाई १० औं महाधिवेशन आयोजक समितिमा परिणत गर्यौं । र, आगामी फागुन २२ देखि २४ गतेसम्म काठमाडौं उपत्यकाभित्र महाधिवेशन गर्ने निर्णय गरेका छौं,' महासचिव दोङले भन्नुभयो ।
महाधिवेशन फागुन २२ देखि २४ सम्म गर्ने मिति गत वैशाखमा भएको संघीय कार्यसमितिको आठौं बैठकले तय गरे पनि भदौमा भएको जेन-जी आन्दोलन र त्यसले सिर्जना गरेको राजनीतिक परिस्थितिका कारण घेदुङको महाधिवेशन अन्योलमा परेको उल्लेख गर्नुहुँदै महासचिव दोङले फागुन २१ मा चुनाव भएमा महाधिवेशन वैशाखमा सार्ने विकल्पसहित निर्णय लिइएको प्रस्ट पार्नुभयो । उहाँले फागुनको चुनाव सरेमा घेदुङको महाधिवेशन निर्धारित मितिमै सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै बैठकले तामाङ घेदुङको विधान संशोधनका लागि महासचिव दोङको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । घेदुङको २०१३ सालमा निर्माण भएको विधानलाई २०७८ को आठौं संशोधनलाई अझै समयानुकूल बनाउन परिमार्जन गराउन लागिएको महासचिव दोङको भनाइ छ ।
१० औं महाधिवेशन गराउन मञ्च व्यवस्थापन, झाँकी एवं र्याली व्यवस्थापनलगायत उपसमितिहरु गठन गरिएको छ ।
बैठकमा महासचिव जगतमान दोङ तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । घेदुङको नवौ महाधिवेशन २०७८ फागुन २९, ३० र चैत १ गते काठमाडौंमा भएको थियो ।