घलेभन्ज्याङ (नुवाकोट) । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा सालिक अनावरण गरिएको छ ।
शनिबार १२ पुस २०८२ मा पूर्वमन्त्री एवं तत्कालीन प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा गणेश पण्डित स्मृति पार्क उद्घाटन तथा सालिक अनावरण कार्यक्रम सम्पन्न भएको हो । २०८१/०८२ को कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ९० लाख रुपैयाँ विनियोजित बजेटबाट दुप्चेश्वर परिसरमा समाजसेवी, शिक्षाप्रेमी तथा राजनीतिज्ञ गणेश पण्डितको पूर्ण कदको सालिक निर्माण गरिएको हो ।
२००३ साउन ३० गते शिखरबेंसी, नुवाकोटमा जन्मिनुभएका पण्डितको २०७५ फागुन २१ गते निधन भएको थियो । स्नातक तह अध्ययन गर्नुभएका उहाँ बाम-लोकतान्त्रिक आन्दोलनका नेता एवं पूर्वसांसद हुनुहुन्थ्यो ।

पण्डितले धार्मिक तथा संस्कृतिक सम्पदा संरक्षणको अगुवाई गर्दै दुप्चेश्वरको संस्थागत विकास र संरक्षणका लागि महत्वपूर्ण योगदान गर्नु भएको थियो । त्यस क्रममा दुप्चेश्वरलाई वातावरणीय दृष्टीले समेत स्वच्छ एवम् दुप्चेश्वर परिसरलाई सफा राख्न तथा दर्शनार्थीहरुलाई स्नान गर्न समेत सहज होस् भन्ने हेतुले सुर्यमती नदीको संरक्षणको लागि भएको संघर्षको पनि नेतृत्व पनि उहाँले गर्नुभएको कार्यक्रमका वक्ताहरुले चर्चा गर्नुभयो ।
पूर्वसांसदसमेत रहनु भएका पण्डितले सिंगो जिल्लालाई शिक्षाको माध्यमबाट प्रगतिशील रुपान्तरण गर्न र त्यस क्षेत्रको सामाजिक जागरण र राजनीतिक परिवर्तनको साथै भौतिक पूर्वाधार निर्माण तथा विकास कार्यमा समेत नेतृत्वदायी भूमिका खेल्नुभएको पूर्वमन्त्री तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, 'बासु तामाङले पत्ता लगाउनु भएको दुप्चेश्वरलाई राष्ट्रिय आकारमा ल्याउन सम्पूर्ण रुपले नेतृत्वदायी भूमिकामा रहँदै आउनुभएका गणेश पण्डितको योगदानबाट भावीपुस्ताले प्रेरणा लिउन् भन्ने उद्देश्यका साथ निर्माण गरिएको पार्क र सालिक अनावरणपछि त्यही दुप्चेश्वर पत्ता लगाउने बासु तामाङको बारेमा थप खोज,अध्ययन र अनुसन्धान एवम् उनको सम्मानको लागि विशेष ढंगले सोच्नु पर्ने दायित्वबोध पनि हामी सबैलाई भएको छ ।' उहाँले त्यस बारेमा छलफल गर्न र योजना बनाउन दुप्चेश्वर विकास कोषलाई आग्रहसमेत गर्नुभयो ।
निवर्तमान सांसद तामाङले जरुरी सल्लाह, सुझाव दिन एवम् आवश्यक सहयोग गर्न आफु सदा तत्पर रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, पूर्वमन्त्री एवं बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, प्रदेशसभा सदस्य रामप्रसाद ढुंगाना, संविधानसभा सदस्य जगदीश नरसिंह केसी, नुवाकोट जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायतको भव्य उपस्थिति थियो ।
