काठमाडौं । सोनाम ल्होछारको अवसरमा आजदेखि टुँडिखेलमा विशेष तामाङ सांस्कृतिक महोत्सव सुरु हुँदै छ । नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ संस्थाले संयुक्त रुपमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवका लागि घेदुङका अध्यक्ष मोहन गोले तामाङको संयोजकत्वमा १०१ सदस्यीय राष्ट्रिय सोनाम ल्होछार–२८६२ ता ल्होछार मूल समारोह समिति गठन गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
सोनाम ल्होछारअन्तर्गत पर्व यस वर्ष मञ्जुश्री सम्वत् २८६२ ‘ता ल्हो’ ९घोडा वर्ष० लाई स्वागत गरिँदै छ । सर्प वर्षको बिदाइ र घोडा वर्षको स्वागतका साथ सामूहिकरुपमा ल्होछार मनाउन टुँडिखेलमा महोत्सव आयोजना गरिएको मूल समारोह समितिले जानकारी दिएको छ ।
आजबाट सुरु हुने महोत्सवको दोस्रो दिन सोमबार आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिको रुपमा उपस्थित हुने हुनेछ ।
नेपाल तामाङ घेदुङ संयोजक र नेपाल राष्ट्रिय तामाङ घेदुङ सहसंयोजक तथा अन्य सबै तामाङ संस्थाहरु सदस्य रहनेगरी १०१ सदस्यीय मूल समारोह समिति गठन गरी मूल समारोह समिति मातहत रहनेगरी सांस्कृतिक कार्यक्रम समिति, ताम्बा, लामा, बोन्बो तयारी समिति, स्वयंसेवक तयारी समिति, प्रचार प्रसार समिति, स्वागत, सत्कार समिति, मञ्च व्यवस्थापन समितिहरु गठन गरिएको संयोजक गोलेले जानकारी दिनुभयो ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अंग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । विभिन्न १२ वटा पशुपन्छीकों नामबाट ल्होको नाम राखिएको हुन्छ । तीमध्ये प्रत्येक वर्ष एक–एक वटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिने संयोजक गोलेले बताउनुभयो ।
उनका अनुसार नेपालका तामाङसहित ह्योल्मो, मनांगे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पाले सोनाम ल्होछार मान्दछन् ।