काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्वदेश फर्कनुभएको छ ।
स्पेनमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी सभामुख सापकोटा नेतृत्वको संसदीय टोली बिहीबार (मंसिर १६ गते) बिहान स्वदेश फर्किएको सभामुख सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
स्वदेश फर्किएपछि सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भ्रमणबारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताउनुभएको थियो । सभामुख सापकोटाले शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित नरहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।
स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग उहाँले आइपियु सम्मेलनमा नेपालको सहभागिता बहुआयामिक हिसाबले महत्वपूर्ण रहेको र सम्मेलनले दूरगामी महत्वको निष्कर्ष निकालेको बताउनुभयो ।
संविधान निर्माण, समावेशी, समानुपातिक प्रनिधित्वलगायत लोकतन्त्रका उपलब्धिलाई आफूले सविस्तार अन्तर्राष्ट्रिय समुदायको माझ राखेको उल्लेख गर्दै उहाँले सम्मेलनमा नेपालको प्रतिनिधित्व सही ढंगबाट भएको बताउनुभयो । संविधान निर्माणपछि नेपाल लोकतान्त्रिक मार्गमा निरन्तर अघि बढिरहेको मुलुकका रुपमा अन्तर्राष्ट्रिय जगतले लिएको आफूले पाएको उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा उहाँले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने धारणा राख्नुभयो । उहाँले संसद्को कामकारबाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्नेसमेत बताउनुभयो ।
स्पेनको म्याड्रिडमा नोभेम्बर २६ देखि ३० सम्म चलेको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल यही मंसिर ८ गते स्पेन प्रस्थान गरेको थियो । सम्मेलनका क्रममा सभामुख सापकोटाले २८ नोभेम्बरमा आई पि यु सभालाई सम्बोधन गर्नु भएको थियो । यसैगरी उहाँले २८ नोभेम्बरमै असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्नु भएको थियो ।
नेपाली संसदीय प्रतिनिधिमण्डलमा सभामुख सापकोटासहित प्रतिनिधिसभा सदस्य देव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई हुनुहुन्थ्यो ।
सो प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखज्यूको प्रमुख स्वकिय सचिव अर्जुन खत्री के.सी. र कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ हुनुहुन्थ्यो ।