काठमाडौं । १० वर्षदेखि करारमा रहेका जनशक्तिलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयप्रति ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । ती संगठनहरुले बिहीबार विज्ञप्ति जारी गर्दै आम शैक्षिक युवाहरुले प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गरेका छन् ।
विज्ञप्ति निकाल्नेमा माओवादी निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियू महासचिव आरती लामा, जसपा निकट समाजवादी विध्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल अध्यक्ष, नेकपा निकट अखिल क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर छन् ।
प्रतिस्पर्धाबाट डराएर बिनाप्रतिस्पर्धा नै त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनु पर्ने माग आफैमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद रहेको उनीहरुको आरोप छ ।
'प्रधानमन्त्री निवास बालुवाटारमा २०७८/०८/१४ बसेको त्रि.वि सभा बैठकले १० वर्षदेखि करारमा रहेको जनशक्तिलाई स्वत: स्थायी गर्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ', विज्ञप्तिमा भनिएको छ, 'देशमा असंख्य काविल प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा पनि त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि नियमन सेवा आयोगको विधानलाई पाखा लगाउदै त्रिवि र राज्यलाइ झण्डै १ अर्ब ५ करोड बढी व्यवभार पर्ने गरि गरिएको निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछौं ।'
निर्णय खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका व्यवस्था लागु गर्न माग गर्दै उनीहरुले त्यस्तो नगरेमा कडा भन्दा कडा संघर्ष गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।