काठमाडौं । नेपाल ब्याडमिन्टन सङ्घको वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचरित्र मेहताले गर्नुभएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेहताले नेपाली ब्याडमिन्टनले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै खेलको दिगो विकासका लागि पूर्वाधार विस्तार, दक्ष जनशक्ति उत्पादन तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
यस्तै नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि सङ्घ, सरकार तथा निजी क्षेत्रबीचको समन्वय अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद क्षेत्रका मन्त्रीका सल्लाहकार राजु सिंह विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
उद्घाटन समारोहमा विभिन्न राष्ट्रिय खेल सङ्घका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा कर्मचारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, नेपाल ब्याडमिन्टन सङ्घका पदाधिकारी एवं बोर्ड सदस्यहरू, चार प्रदेश तथा ४१ जिल्लाको ब्याडमिन्टन सङ्घका प्रतिनिधिको उपस्थिति रहेको थियो।
नेपाल ब्याडमिन्टन सङ्घका प्रवक्ता बेनुप राज खत्रीका अनुसार साधारण सभामा आर्थिक तथा प्रगति प्रतिवेदन, आगामी योजना, नीतिगत प्रस्ताव तथा सङ्गठनको भावी कार्यदिशामाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको छ।
साधारण सभाबाट पारित निर्णयहरूले नेपाली ब्याडमिन्टनको संस्थागत विकास, सुशासन प्रवर्द्धन, खेलाडी उत्पादन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास सङ्घको रहेको छ ।