काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिँदै प्रधानमन्त्री देउवाले चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिनु भएको हो ।
'निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु,' प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन भएकी पन्तको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।
‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आइतबार दिउँसो महेन्द्रनगर बजारमा र्याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।
घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा आउने प्रहरी नायब उपरीक्षकलाई अनुसन्धान अधिकृत खटाएर जिल्लास्तर र प्रदेशबाटसमेत घटनाका अनुसन्धानमा प्रहरीका छुट्टा छुट्टै टोली परिचालित छन् ।
घटनामा संलग्न जनाउँदै प्रहरीले घटनाको चौथो साता भीमदत्त नगरपालिका–१९बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठीक नभएका उनलाई अभियुक्त बनाएको आक्रोशमा यहाँ आन्दोलन चर्कियो । अभियुक्त विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले रिहा गरेको थियो ।
आन्दोलन मुलुकभर भइरहँदा महेन्द्रनगरमा प्रहरीको गोली लागेर भीमदत्त–१८ सालघारीका सनी खुनाले ज्यान गुमाउनुभएको थियो । सुदूरपश्चिम प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालयको नेतृत्व संहाल्न आउने प्रहरी अधिकारीले निर्मला प्रकरणका दोषीलाई कानूनी दायरामा ल्याउने विषय प्राथमिकतामा राख्दै अनुसन्धान थाल्ने गरेको भए पनि अझै आपराधि पत्ता लाग्न भने सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले केन्द्र, प्रदेश र जिल्ला प्रहरीको गरी तीन वटा टोली घटनाको अनुसन्धान निरन्तर खटिएको जानकारी दिनुभयो ।