हेटौंडा । मकवानपुरको हेटौंडामा जारी नेपाली कांग्रेसको पहिलो वाग्मती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शनिबार तय गरिएको मतदान अझै सुरु हुन सकेको छैन ।
शनिबार बिहान ८ बजेबाट सुरु हुने भनिए पनि आन्तरिक तयारी नपुगेको भन्दै मतदान ढिला भइरहेको निर्वाचन समितिले जनाएको छ । अबको करिब आधा घण्टा पछाडि मतदान प्रारम्भ हुने प्रदेश सभापति दाबेदार जगदीशश्वर नरसिंह केसीले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । मतदानस्थल फरेष्ट्री वन विज्ञान संस्थान हेटौंडामा तय गरिएको छ । अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन् ।
प्रदेश समितिका ९१ पदका लागि २५७ जनाको उमेदवारी परेको छ । प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ ।
सभापतिमा संस्थापन (शेरबहादुर देउवा)बाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरिसंह केसी, कृष्ण सिटौला प्यानलबाट भीमसेनदास प्रधानले उमेदवारी दिनुभएको छ । संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिनुभएको छ । ।
संस्थापन इतर समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोल उमेदवार दिनुभएको छ । प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिनुभएको छ । सदस्यतर्फ खुल्लामा ८५ जना, समावेशीतर्फ १४८ जनाको उम्मेदवारी परेको छ ।
अधिवेशनबाट दुई उपसभापति, दुइ महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।