नुवाकोट । गुरुङगाउँमा पहिरो झर्दा काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने टोखा-गर्जे-छहरे सडकखण्ड अवरुद्ध भएको छ ।
आइतबार दिउँसोदेखि निरन्तर वर्षापछि साँझ ७ बजेतिर सडकमाथिबाट पहिरो खसेको हो । पहिरोमा परी एक स्कुटरमा क्षति पुगेको गुर्जे प्रहरी पोस्टका असई बिचारी श्रेष्ठले जानकारी दिनु भयो । स्कुटर त्रिशूलीबाट काठमाडौंतर्फ जाँदै थियो ।
असई श्रेष्ठका अनुसार साँझको पहिरो सानो भएकाले चार पाङ्ग्रे एक दर्जन र दुई पाङ्ग्रे २ दर्जन जति सवारी साधन प्रहरी र स्थानीयको सहायतामा पास गरिएको छ । तर ७ वटा जति ट्रक भने बीच बाटोमै अलपत्र अवस्थामा छन् ।
असई श्रेष्ठले राति पहिरो थपिएन र त्रिशूलीबाट डोजर चाँडै आएमा सोमबार बिहान १० बजेतिर सडक सञ्चालनमा ल्याइने बताउनुभयो । पहिरोस्थल गुर्जे अस्थायी पोस्टबाट पश्चिमतर्फ करिब १ किलोमिटरको दुरीमा पर्दछ ।
धन्न फसेन 'भीआईपी'
वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ पहिरोमा फस्नबाट धन्न बच्नु भएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको शिखरबेंसीका पहिरोपीडितलाई भेटेर फर्किने क्रममा उपसभामुख सवार गाडी पहिरो झर्दै गर्दा पहिरोस्थल पुगेको थियो । पहिरोसंगै खसेको ढुंगाबाट अगाडिको स्कूटरमा क्षेती पुगे पछि उपससभामुख तामाङ केही बेर रोकिनु भएको थियो ।
स्थानीय प्रहरी र सर्वसाधरणको सहयोगमा स्कूटर चालकको उद्दार गरी पठाउए पछि पहिरो झर्न रोकिएको मौकामा उपसभामुख तामाङ सवार गाडी पास गराइएको असई श्रेष्ठले ग्लोबल मिडियालाई जानकारी दिनु भयो । गाडीबाट ओर्लेर पहिला गाडि पास गरिसकेपछि हिंडेर सडक पार गर्दैगर्दा पुनः पहिरो खस्दा उपसभामुख तामाङ थोरैले बच्नु भएको थियो । एक्कासी पहिरो र ढुंगा खासे पछि संगैको प्रहरीले वहाँलाई घचेटेर अगाडि हुत्याएर बचाउनुभएको थियो ।
'पहिरो पीडितलाई भेटेर आएको, झण्डै आफै पहिरोमा परिएन' पहिरोबाट उम्केपछि उपसभामुख तामाङले अनुभूति सुनाउनु भयो । वहाँले पानी परेको बेला र रातीको समयमा यस सडकबाट यात्रा नगर्न पनि अनुरोध गर्नुभएको छ । उपसभामुख भन्दा केही पछाडि अर्को गाडिमा सवार संघीय सांसद हितबहादु तामाङ पनि सोही पहिरोका कारण केहीबेर रोक्नु परेतापनि वहाँको पालामा खतरा झेल्नु परेन ।
यस्तै नेकपा (एमाले) ओली समूहका नुवाकोट अध्यक्ष तथा वाग्मती प्रदेश सांसद बद्री मैनाली सोही सडकबाट पहिरो जानुभन्दा करिब डेढ घण्टाअघि काठमाडौं प्रवेश गर्नु भएको थियो । वाग्मती प्रदेशका मन्त्री केशवराज पाण्डे सवार गाडी भने पहिरो गएको प्रहरीको जानकारी पछि छहरे बजारबाट फर्किएको थियो ।