नुवाकोट । नुवाकोटको गुरुङगाउँको सडकमा झरेको पहिरो हटाइएको छ । त्रिशूलीबाट आएको डोजेर, स्थानीय प्रहरी र सडकका कामदारको सहायतामा सोमबार बिहान ९ बजे पहिरो हटाइसकेको गुर्जे प्रहरी पोस्टका असई बिचारी श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार अहिले यातायातका साधन चल्न सुरु भइसकेको छ ।
आइतबार साँझ ६ बजेतिर सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । पहिरो झर्न रोकेको समयमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे करिब ३ दर्जन सवारी साधन सोमबार नै पास गरिएको थियो । तर ठूला सबारी ट्रक, टिप्पर ६/७ वटा भने रातभर अलपत्र थियो ।
पहिरोमा परी एक स्कुटरमा क्षति पुगेको थियो । स्कुटर त्रिशूलीबाट काठमाडौंतर्फ जाँदै थियो । पहिरोस्थल गुर्जे अस्थायी पोस्टबाट पश्चिमतर्फ करिब १ किलोमिटरको दुरीमा पर्दछ ।
पहिरो गएको बेला वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ पनि सोही स्थल नजिक पुग्नु भएको थियो । दुप्चेश्वर गाउँपालिकाको शिखरबेंसीका पहिरोपीडितलाई भेटेर फर्किने क्रममा उपसभामुख सवार गाडी पहिरो झर्दै गर्दा गुरुङगाउँ पहिरोस्थल पुगेको थियो । पहिरोसँगै खसेको ढुंगाबाट अगाडिको स्कुटरमा क्षति पुगेपछि उपससभामुख तामाङ केहीबेर रोकिनु भएको थियो ।
स्थानीय प्रहरी र सर्वसाधरणको सहयोगमा स्कुटर चालकको उद्धार गरी पठाएपछि पहिरो झर्न रोकिएको मौकामा उपसभामुख तामाङ सवार गाडी पास गराइएको असई श्रेष्ठले ग्लोबल मिडियालाई जानकारी दिनु भयो । गाडीबाट ओर्लेर पहिला गाडी पास गरिसकेपछि हिँडेर सडक पार गर्दैगर्दा पुनः पहिरो खस्दा उपसभामुख तामाङ थोरैले बच्नु भएको थियो । एक्कासी पहिरो र ढुंगा खसेपछि सँगैको प्रहरीले उहाँलाई घचेटेर अगाडि हुत्याएर बचाउनुभएको थियो ।
'पहिरो पीडितलाई भेटेर आएको, झण्डै आफै पहिरोमा परिएन' पहिरोबाट उम्केपछि उपसभामुख तामाङले अनुभूति सुनाउनु भयो । उहाँले पानी परेको बेला र रातिको समयमा यस सडकबाट यात्रा नगर्न पनि अनुरोध गर्नुभएको छ । उपसभामुख भन्दा केही पछाडि अर्को गाडीमा सवार संघीय सांसद हितबहादु तामाङ पनि सोही पहिरोका कारण केहीबेर रोक्नु परेको थियो ।
यस्तै नेकपा (एमाले) ओली समूहका नुवाकोट अध्यक्ष तथा वाग्मती प्रदेश सांसद बद्री मैनाली सोही सडकबाट पहिरो जानुभन्दा करिब डेढ घण्टाअघि काठमाडौं प्रवेश गर्नु भएको थियो । वाग्मती प्रदेशका मन्त्री केशवराज पाण्डे सवार गाडी भने पहिरो गएको प्रहरीको जानकारी पछि छहरे बजारबाट फर्किएको थियो ।