सिड्नी । शनिबार सम्पन्न भएको न्यू साउथ वेल्स राज्यको स्थानीय चुनावमा पहिलो पटक नेपाली महिला विजयी हुनु भएको छ ।
सिड्नीको ब्याङ्सटाउन क्यान्टबरी सिटी काउन्सिलको काउन्सिलर पदमा निर्वाचित हुँदै नेपाली मूलकी भद्रा वाइबाले नयाँ रेकर्ड बनाउन सफल हुनुभएको हो । लेवर पार्टीबाट उम्मेद्वार बन्नु भएको उहाँले मतगणना सकिनपूर्व नै अभूतपूर्व भोटसहित विजयी हुनुभएको हो ।
को हुन् भद्रा वाइबा ?
भद्रा वाईबाको जन्म वि.सं. २०२६ सालमा सिन्धुलीको हालको कमलामाई नगरपालिका वडा नम्बर २ (भद्रकाली गाविस) मा स्वर्गिय बुबा आइतसिं वाइबा र स्वर्गिय आमा टुल्कुमाया तामाङबाट भएको थियो ।
भद्रा वाईबा हाल पेशाले रजिष्टर्ड नर्स हुनुहुन्छ । नेपालको वीर अस्पताल र प्रसुती गृह लगायत एक दर्जन सरकारी अस्पतालमा १८ वर्ष स्वास्थ्य सेवा प्रदान गरिसक्नु भएकी भद्रा नर्सिङ सेवा गरेर सन् २००८ मा अष्ट्रेलिया जानुभएको थियो ।
भद्राले महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको स्थापना गर्न निकै ठुलो योगदान दिनुभयो । सन् १९९१ मा प्रारम्भिक कमिटिको अध्यक्ष भएर भद्राकै नेतृत्वमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु स्थापना भएको थियो । अनेरास्ववियुबाट विद्यार्थी राजनीति गर्नुभएका भद्रा कानुनमा बिबिएल गरेर अधिवक्ता समेत बन्नु भएको हो ।
वाईबाले उम्मेद्वारी दिनुभएको क्षेत्र प्रतिपक्ष दलको पकड इलाका हो । ठूलो चुनौतीबिच चुनाव जितेर नेपालीको राजनीतिमा रहेको पहुँच पुष्टि पनि गर्नुभएको छ । उहाँले बैंकसटाउन काउन्सिलको रोजल्यान्ड वडामा टिकट पाउनु भएको थियो । निर्वाचन आयोगले सोमबार औपचारिक घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिने बताएको छ ।
उहाँ सन् २००८ मा अष्ट्रेलिया जानुभएपछि आफ्नो करियर र राजनीतिलाई सँगसँगै लानु भएको थियो । साथै उहाँले अभियानमा साथ दिने सबै मतदाता तथा शुभचिन्तकहरुलाई धन्यवाद दिदै घोषणा पत्रअनुसार काम गर्न आफूले नियमित रुपमा प्रेरित गर्ने पनि बताउनु भयो ।
काउन्सिलमा वार्ड अनुसार मतदान हुन्छ । मतदाताले आफ्नो वार्डको उम्मेदवारलाई मात्र भोट हाल्छन् । भद्राको वार्ड रोजल्याण्डस् हो । सो वार्डमा लेभरका तीन उम्मेदवार मध्ये भद्रा दोस्रो नम्बरमा हुनुहुन्छ । उहाँ लेभर पार्टीको पञ्चवल शाखाको सहसचिव पदमा समेत कार्यरत हुनुहुन्छ । सन् २०१३ मा पार्टी प्रवेश गरेदेखि नै भद्रामा दलभित्र बलियो उपस्थिती जनाउदै आउनुभएको छ ।
कोभिडको समयमा विश्व आक्रान्त भएको समयमा उहाँले स्थानिय समुदायलाई सहयोग जुटाउन निकै खट्नु भएको थियो र उहाँको सो कामको प्रशंसा पनि हुँदै आईरहेको छ । भद्राका टिमको नेतृत्व गरिरहनुभएका उमेद्वार काल सालेहले भद्रा जस्तो व्यक्तित्वको धनी आफ्नो टिममा हुँदा गर्व लागेको प्रतिक्रिया दिनुभएको छ ।
स्थानिय समुदायमा सेवा पु¥याएको भन्दै भद्राले ‘न्यु साउथ वेल्स’ स्थानिय महिला वर्षको उपाधी पाईसक्नु भएको छ। अवको योजना सफा र सुरक्षित शहर निर्माणमा जोड दिने उहाँले बताउनुभएको छ ।