काठमाण्डौ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा सोमबारको पत्रकार सम्मेलनमा २ जना नेपालीमा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो । उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
विदेशी र संक्रमितको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने सङ्क्रमण देखिएको छैन ।
स्वास्थ्य सचिव डा पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गर्नुभयो । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो ।
यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म ओमिक्रोन विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरुमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्ट संक्रमित देखिएका छन् ।
विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ ।
नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ रिपोर्ट अनिवार्य गरेको , खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्धारा जारी प्रेस विज्ञप्ती