सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले सिन्धुपाल्चोकको बाढीपहिरो पीडित स्थानीय विपत कोषमा आर्थिक सहयोग गरेको छ । प्रभावित स्थानीय तहलाई माओवादी केन्द्र बागमती प्रदेश समितिले रु. ६६ लाख ८९ हजार ९९७ रुपैंयाँ रकम संकल गरी हस्तान्तरण गरिएको हो ।
सोमबार मेलाम्चीमा एक कार्यक्रमका बीच माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, सहइन्चार्जद्वय हितबहादुर तामाङ र हितमान शाक्य, केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, माधव सापकोटा लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मेलाम्ची नगर प्रमुख डम्बरबहादुर अर्याल, पाँचपोखरी थाङपाल अध्यक्ष टासी लामाले सहयोग रकम बुझ्नुभएको थियो भने हेलम्बुबाट सरकारका प्रतिनिधि उपस्थित नभएका कारण स्थानीय पार्टी प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।
गत असार १ गते आएको बाढी पहिरोले सिन्धुपाल्चोकको ३ स्थानीय तह मेलम्ची नगरपालीका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका पूर्ण रुपमा प्रभावित भएको थियो ।
धेरै क्षति भएको ३ स्थानीय तह मध्ये मेलाम्ची नगरपालिकालाई २३ लाख २९ हजार ९९९ रुपैंयाँ, हेलम्बु गाउँपालिकालाई २३ लाख २९ हजार ९९९ रुपैंयाँ र पाँचपोखरी थाङपाल गाउँपालिकालाई २० लाख २९ हजार ९९९ रुपैंयाँ आर्थिक सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष दाहालले माओवादीकेन्द्र पार्टीको तर्फबाट र सरकार मार्फत पनि बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सक्दो सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनभयो । प्रदेशभरका ४८ वटा स्थानीय तहले आर्थिक सहयोग गरेको केन्द्रीय सदस्य तथा सांसद युवराज दुलालले बताउनुभयो । सहयोग रकम बाढीपहिरो व्यवस्थापन र पुननिर्माणको लागि प्रयोग गर्न सकिने उहाँले बताउनु भयो ।