नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिका १ तलाखुमा सहसचालक सुमन थापाको हत्यामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी कारबाही अघि बढाउने समझदारीपछि दाह संस्कार प्रक्रिया अगाडि बढाइएको छ ।
पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको अगुवाईमा बुधबार बिहान जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं एसपी रामप्रकाश साहसँग अनुसन्धान प्रक्रियालगायत विषयमा छलफलपछि परिवारले शव बुझेका हुन् ।
'हिजो मुचुल्क उठाउने र शव जिल्ला सदरमुकाम ल्याउन ढिलाई भएकोले आज पोस्टमार्टम गर्ने र सोही आधारमा थप अनुसन्धान गर्ने भन्ने प्रहरी अधिकारीसँग कुरा भयो, त्यसपछि दाहसंस्कारका लागि शव गाउँमा लाँदैछन्', पञ्चकन्या गाउँपालिका अध्यक्ष तामाङले ग्लोबल मिडियासँग भन्नुभयो ।
तस्बिर सौजन्य : मणिनाथ लामिछाने, वडाध्यक्ष पञ्चकन्या गाउँपालिका, नुवाकोट
छलफलमा अध्यक्ष तामाङले घटनाको अनुसन्धानका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको र अपराधी उम्किन नपाओस् भन्ने आग्रह गरेको बताउनुभयो । अध्यक्ष तामाङले सुनाउनुभयो, 'यो घटना हत्या हो । अपराधी छिप्नु भएन । अनुसन्धान गर्ने काममा हामी सहजीकरण गर्न तयार छौं । निर्दोष नपरोस्, अपराधी नउम्कियोस् ।'
प्रहरी प्रमुख एसपी साहले घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्ने र दोषी पत्ता लगाई कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
छलफलमा गाउँपालिका अध्यक्ष तामाङ, पञ्चकन्या गाउँपालिका वडा नं १ का अध्यक्ष मणिनाथ लामिछाने, ५ का अध्यक्ष डिल्लीबहादुर थापा, स्थानीय र विभिन्न दलका नेता, कार्यकर्ताको समेत सहभागिता थियो ।
बसमा सहचालका रुपमा काम गर्दै आएका पञ्चकन्या ३ राउटारका अन्दाजी २० वर्षीय सुमन थापा सोमबार राति तलाखुमा मृत अवस्थामा भेटिनु भएको थियो । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर जनार्दन घिमिरेको नेतृत्वमा खटिएको टोली र स्थानीय प्रहरीको सहायतामा दिनभर छलफलपछि शव त्रिशूली अस्पताल पुर्याइएको थियो । सोही टोलीले घटनामा संलग्न रहेको आशंकामा मंगलबार नै मुख्य अभियुक्त कुमार पण्डितसहित ४ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान र कानुनी प्रकिया अगाडि बढाइँदैछ ।
बस चालकसमेत रहेका पण्डितले आफूले भान्जा (सुमन थापा) को हत्या गरेको र अदालतले दिने सजाय भोग्न तयार रहेको समेत प्रहरीसमक्ष बयान दिइसक्नु भएको छ । यद्यपि पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी राखिएको प्रहरीले बतायो ।