खेलप्रसाद बुढाक्षेत्री ‘पराग’
जन्म
‘पराग’अर्थात् खेलप्रसाद बुढाक्षेत्री, माओवादी आन्दोलनका एक अविचलित सिपाहीको नाम हो । उहाँको जन्म २०३२ साल मंसिर १२ गते ताप्लेजुङकको पेदाङस्थित चिच्याङ भन्ने ठाउँमा भएको हो । गरिब किसान परिवारका बुबा स्व. शम्सेरबहादुर बुढाक्षेत्री र आमा स्व. बिष्णुमाया बुढाक्षेत्रीका कान्छो छोराका रुपमा जन्मिनुभएका खेलप्रसादको बाल्यकाल निकै अभावका बीच गुज्रियो । सिंगो परिवारको जीविकोपार्जनको एउटै आधार कृषि थियो । उहाँका ५ दाजुभाइ र ४ जना दिदीबहिनी हुनुहुन्थ्यो । अहिले ३ दिदीबहिनी र २ जना दाजुहरु हुनुहुन्छ ।
शिक्षा
खेलप्रसादको गाउँ विकट भएको हुँदा विद्यालय पुग्नलाई एक घण्टा हिँड्नु पर्ने बाध्यता थियो । जसले गर्दा उमेर छिपिएपछि मात्र विद्यालय भर्ना हुनुभयो ।
उहाँले राष्ट्रिय मा.वि पेदाङमा कक्षा सातसम्म अध्ययन गर्नुभयो । गरिब किसानको छोरो, त्यसमा पनि घण्टौंको पैदाल यात्राबाट विद्यालय धाएर पनि खेलप्रसादको पढाई भने निकै राम्रो थियो । उहाँ कक्षामा प्रथम विद्यार्थी हुनुहुन्थ्यो ।
खेलप्रसादले मावि तहको शिक्षा ताप्लेजुङकै सिनाम मा.वि बाट हासिल गर्नुभयो । जुन विद्यालय अहिले बहुमुखी क्याम्पसमा रुपमान्तरण भएको छ । जसले गर्दा धेरै विद्यार्थीले आफ्नै गाउँठाउँमा उच्चशिक्षा अध्ययन गर्न पाइरहेका छन् ।
२०४६ सालदेखिको राजनितिक यात्रा
खेलप्रसाद थप शिक्षाका लागि २०४६ साल पुस महिनामा सिनामको विद्यालयमा जानुभएको थियो । त्यहाँ गएपछि उहाँले राजनीतिमा चासो देखाउँदै एमाले निकट अनेरास्ववियूमा आबद्ध हुनुभयो । जतिखेर नेपालमा पञ्चायत जिउँदै थियो । सिनाम कम्युनिष्टहरुको उर्वरभूमि हो । त्यहाँका साथीभाइको संगतले खेलप्रसादलाई राजनीतिमा लाग्ने प्रेरणा मिल्यो । पञ्चायत र राजसंस्थाले गरेको शोषण, समाजमा भएका अन्याय, अत्याचारलाई नजिकबाट नियाल्दै आउनु भएको खेलप्रसादले यसका विरुद्धमा कम्युनिष्टहरुले लड्छन् भन्ने कुरा सिनाम आएपछि बुझ्नुभयो । उहाँलाई अन्यायको विरुद्धमा लड्नुपर्छ भनेर शिक्षा दिने काम अनिल थेबेले गर्नुभएको थियो । खेलप्रसादलाई शिक्षा दिने शिक्षक अहिले पनि सिनाममै हुनुहुन्छ ।
सिनाममा अध्ययन गर्दा उहाँ अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष हुनुभयो । त्यसपछि ताप्लेजुङ जिल्लाको अनेरास्ववियूको जिल्ला सहसचिबको जिम्मेवारी पाउनु भयो । अध्ययनसँगै राजननीतिमा लागेका खेलप्रसाद एसएलसी पास गर्नेमा परिवारको पहिलो सदस्य हुनुहुन्थ्यो । खेलप्रसाद इन्जिनियरिङ अध्ययनका लागि काठमाडौं आउनु भयो । परिवारले इन्जिनियरिङका लागि आर्थिक अवस्था धान्न नसक्ने देखेपछि फेरि धरान फर्किनुभयो । धरानको हात्तीसार क्याम्पसमा विज्ञान विषय अध्ययन गर्नुभयो । त्यहाँ पनि खेलप्रसाद संगठनमा आबद्ध हुनुभयो र क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्ष बन्नुभयो । स्ववियूको चुनावमा सहभागी भई सो क्याम्पसको उपसभापतिको पनि जिम्मेवारी निभाउनुभयो । राजनीतिक जिम्मेवारीको क्रममा खेलप्रसाद सुनसरीको अनेरास्ववियु जिल्ला सदस्य पनि बन्नुभयो ।
परिवारको आर्थिक अवस्था कमजोर भएको हुँदा उहाँले ऋण काडेर अध्ययन गर्नुभएको थियो । गाउँमै काम गरेर ऋण तिर्ने र खर्च जुटाएर थप अध्ययनलाई निरन्तरता दिने सोचले उहाँ ताप्लेजुङ लाग्नु भयो । गाउँ फर्केर उहाँले गाउँकै विद्यालयमा पढाउन थाल्नुभयो । दाजुभाइहरु छुटिएपछि परिवारको सल्लाहअनुसार खेलप्रसादले २०५५ सालमा विवाह गर्नुभयो । विवाह भएको एक वर्ष पछि २०५६ सालमा उहाँको बुबाको निधन भयो । पारिवारिक जिम्मेवारी बढेपछि उहाँले विज्ञान विषय अध्ययन गर्ने रहरलाई त्याग्नु पर्ने अवस्था आयो । थप अध्ययनका लागि इलाममा झर्नुभयो । यस अवधिमा खेलप्रसादले नेकपा एमालेको जिल्लास्तरमा विभिन्न भूमिका निर्वाह गर्नुभयो ।
०५९ देखि माओवादीमा 'होलटाइमर'
नेपालमा जनयुद्धको प्रभाव उहाँलाई धरानमा अध्ययन गर्दादेखि नै पर्न थालेको थियो । विस्तारै जनयुद्धको प्रभाव बढ्न थाल्यो । उहाँ इलाम क्याम्पसमा अध्ययन गर्न आउँदा कटक साम्पाङ नामका एक विद्यार्थी नेतासँग भेट भयो, जो जनयुद्धमा सहिद हुनुभयो । साम्पाङसँग भेट भएपछि खेलप्रसादले तत्कालीन नेकपा (माओवादी)मा लाग्ने निर्णय लिनुभयो । जनयुद्धमा सहभागी भई समाज परिर्वतनमा लाग्ने निष्कर्षमा पुग्नुभयो र वि.सं. २०५६ मा ताप्लेजुङ जानु भई खेलप्रसाद माओवादी पार्टीको सम्पर्कमा पुग्नुभयो ।
पारिवारिक स्थितिले राजनीतिमा लाग्ने अवस्था नभए तापनि उहाँको विचार र व्यवहारले खेलप्रसादलाई राजनीतिमा डोहोर्याइसकेको थियो । माओवादीमा लाग्ने या राज्यसँग आत्मसमर्पण गरेर जागिर खाइराख्ने एउटै मात्र विकल्प उहाँसँग थियो । तर उहाँले सामन्ती राज्यसत्ताको दास बनेर जागिर खानुभन्दा उनीहरुको विरुद्धमा लड्नुपर्छ भन्ने मानसिक तयारीका साथ जागिर छोडेर पूर्ण रुपमा जनयुद्धमा लाग्नुभयो र २०५९ साल असार १ गतेबाट माओवादीको होल्डटाइमर (पूर्णकालीन) बन्नुभयो । त्यसपछि अहिलेसम्म उहाँ माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहँदै आउनु भएको छ । पार्टीमा विभिन्न किसिमको उतारचढाब आएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व र माओवादी केन्द्रको लक्ष्यप्रति अविचलित रही राजनीतिमा सक्रिय रहनुभएको छ । हाल ताप्लेजुङ जिल्लाको इन्चार्जको जिम्मेवारीमार्फत जनताको सेवा गरिराख्नुभएका खेलप्रसाद माओवादी केन्द्रमा लाग्दा निकै गौरव लागेको बताउनुहुन्छ । वामपन्थी आन्दोलनमा सहभागी भएको ३२ वर्ष र पार्टीमा पूर्णकालीनको रुपमा लागेको २० वर्षको अनुभव खेलप्रसादले गरिसक्नुभएको छ । खेल प्रसादको राजनितिक यात्रालाई यहाँ सम्म सफलापूर्वक ल्याउँनको लागि उहाँको श्रीमती कुमारी भण्डारीको महत्वपूर्ण भूमिका छ । पारिवारिक कुरा गर्ने हो भने श्रीमती भण्डारीसँगै उहाँको साथमा एक छोरा र एक छोरी हुनुहुन्छ ।
यस अवधिमा आफू इमान्दारीपूर्वक पार्टी र जनताको पक्षमा लडिरहेको उहाँ बताउनुहुन्छ । र, भन्नुहुन्छ, ‘आफूले लामो समय राजनीतिमा लाग्दा कहिल्यै पनि गडबडी गरिनँ, यसमा कहींकतै प्रश्न उठाउने ठाउँ छैन, मलाई पूर्ण आत्मविश्वास छ ।’ जतिखेर जनयुद्धमा लाग्नु भयो त्यत्तिखेर उहाँको परिवारमा आमा वृद्ध अवस्थाको हुनुहुन्थ्यो भने सन्तानमा छोरी जन्मिसकेको थियो, दुई वर्षको छोरी छाडेर जनयुद्धमा होमिनु भयो घरमा भैँसीलाई घाँस काट्ने मान्छे नभएपछि त्यो भैँसी पनि बेचेर माओवादीको होलटाइमर भएको उहाँ सम्झिनुहुन्छ । शिक्षण पेसाबाट राजनीतिकमा होमिएका खेलप्रसादले ताप्लेजुङ जिल्लाको माओवादी निकट शिक्षक संगठनको पहिलो संयोजक पनि बन्ने अवसर पाउनुभयो ।
उहाँले जनयुद्धको अवधिमा अग्रभाग अर्थात् जनमुक्ति सेनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०६१ मा जनमुक्ति सेनामा आबद्ध भएर कम्पनी सहायक कमिसार, कमिसार हुँदै कमाण्डरहरुसँग युद्धमा सँगसँगै लडनुभयो । सिराहाको बन्दीपुर मोर्चामा पहिलो पटक प्रत्यक्ष लडाइँको अनुभव गरेको उहाँ बताउनुहुन्छ । सो मोर्चामा उहाँको खुट्टामा सामान्य चोट लागेको थियो ।
भोजपुरको मोर्चामा साँझदेखि रातको १ बजेसम्म लडाइँ लडेको सम्झना आज पनि ताजै रहेको खेलप्रसाद सुनाउनुहुन्छ । सो मोर्चामा माओवादीलाई धेरै क्षति नभए पनि फर्किँदा बाटोको भिडन्तमा सँगैका धेरै साथीहरु गुमाउनु परेको पीडा उहाँसँग रहेको छ । उहाँ भन्नुहुन्छ, ‘सहादत भएका साथीको शवलाई पुर्दै आफूलाई सम्हाल्दै घाइते साथीहहरु बोकेर आयौं ।’ यसरी धेरै युद्धमोर्चामा खेलप्रसाद आफै प्रत्यक्ष सहभागी हुनुभयो भने माओवादीको धेरै कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ छ ।
शान्ति प्रक्रिया पछि पुनः भूगोलमा काम गर्न जाने पार्टीको निर्देशनअनुसार खेलप्रसाद सुनसरी, मोरङ हुँदै गृहजिल्ला ताप्लेजुङमा फर्केर माओवादी केन्द्रका विभिन्न भूमिकामा सक्रिय हुनुभयो । र, हाल उहाँ ताप्लेजुङको पार्टी इन्चार्जको भूमिका हुनुहुन्छ । अब जननिर्वाचित भएर प्रत्यक्ष रुपमा जनताको सेवा गर्ने इच्छा खेलप्रसादको रहेको छ ।