घलेभञ्ज्याङ । नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका १ तलाखुमा मारिएका सहचालक सुमन थापाको अन्त्येष्टि गरिएको छ ।
त्रिशूली अस्पतालबाट शव बुधबार दिउँसो घर पञ्चकन्या गाउँपालिका-३ राउटार पुर्याएर प्रचलनअनुसार दाहसंस्कार गरिएको हो । स्थानीय तादी नदी किनारको घाटमा सुमनको बेलुकी करिब ७ बजे अन्त्येष्टि सकिएको आफन्त मुना अधिकारीले ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
करिब ४ वर्षदेखि बसमा सहचालकका रुपमा काम गर्दै आएका सुमन २३ वर्षका हुनुहुन्थ्यो । परिवारमा दुई दिदीबहिनी र सुमन सन्तान हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार प्लस टु (कक्षा १२) पढेर सुमन गाडी लाइनमा काम गर्न लाग्नुभएको थियो । आफ्नै मामा ड्राइभर भएकाले सुमन काठमाडौंको गोगंबु बसपार्क क्षेत्र र नुवाकोटमा समेत 'भान्जा' भनेर चिनिनुहुन्थ्यो ।
सुमनको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुप्चेश्वर गाउँपालिका ७ शिखरबेंसीका कुमार पण्डितले पनि 'भान्जालाई मैले मारेको हुँ, अदालतले दिने सजाय भोग्न तयार छु' भन्ने प्रहरीसमक्ष बयान दिएको भिडियो सार्वजनिक भएको छ ।
सुमनको हत्या सोमबार राति तलाखुमा भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली पुगेर मंगलबार साँझमात्र शव त्रिशूली पुर्याइएको थियो । प्रहरीले अनुसन्धान जारी राखेको र पोस्टमार्टम रिपोर्टपछि हत्या वा अन्य कारणले मृत्यु भन्ने थाह हुने जनाएको छ । तर घटनास्थलमा खटिएका इन्स्पेक्टर जनार्दन घिमिरेले मृतकको टाउकोमा गम्भीर चोट लागेको बताउनुभएको छ । घटना गराएको आशंकामा कुमार पण्डितसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको छ ।
अनुन्धान प्रभावकारी बनाउनका लागि आफूहरु सहजीकरणका लागि तयार रहेको भन्दै पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, वडाध्यक्षहरु र स्थानीय जिल्ला प्रहरी कार्यालय विदुर पुगेर बुधबार आग्रह गर्नुभएको थियो । परिवारका सदस्यले पनि सुमनको हत्या किन भयो र अपराधी नउम्कियोस् भन्ने माग गरेका आफन्त अधिकारीले बताउनुभएको छ ।