नुवाकोट । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा नुवाकोटको अध्यक्षमा फेरि शक्तिमाया तामाङ चयन हुनुभएको छ ।
शुक्रबार भएको चौथो जिल्ला अधिवेसनले तामाङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । नयाँ कार्यसमिति उपाध्यक्षमा राकेश डंगोल, सचिवमा सुनिल श्रेष्ठ र कोषाध्यक्षमा भगवती लामा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा होमबहादुर तामाङ, सञ्जु तामाङ, भावना तामाङ, मनिष नगरकोटी र शर्मिला थापा मगर चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा गमला लामा, नवदीप श्रेष्ठ, अनुजमान श्रेष्ठ र प्रदेश प्रतिनिधिमा राम श्रेष्ठ, भरत लामा र प्रताप तामाङलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नुवाकोटका अध्यक्ष भगवान राना मगरले फोनिजलाई साथमा लिएर गतिविधिहरु सञ्चालन गर्दै जाने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष नवदीप श्रेष्ठले आफ्नो भाषा, संस्कार, पहिचानलाई आफू आबद्ध सञ्चारमाध्यममा प्राथमिकता दिनलाई फोनिजमा आवद्ध पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
शाखामा आवद्ध पत्रकारहरुलाई सक्रिय बनाउन प्रोत्साहनका गतिविधि सञ्चालन गर्ने फोनिज जिल्ला अध्यक्ष शक्तिमाया तामाङले प्रतिबद्धता जनायो ।