कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आइतबार जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिँदै जाने बताउनुभयो ।
लामो समयदेखि आफ्नै घर आँगनमा उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने सपना देखेका नागरिकको सपना पूरा भएकामा यसका लागि प्रयास गर्ने सबैलाई राष्ट्रपति भण्डारीले बधाईज्ञापन गर्नुभयो । उहाँले प्रतिष्ठान स्थापनाकालदेखि बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ गर्ने अवस्थामा ल्याउन योगदान पु¥याउने कर्णालीवासी जनता, विद्वत समुदाय, प्राज्ञिकजगत्, नेपाल सरकार र सम्बद्ध निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको पनि शिलन्यास गर्नुभएको छ । शैक्षिक कार्यक्रमको शुभारम्भ गरेपश्चात् आजदेखि एमबिबिएस, बी।फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिष्ठानको स्थापनाले कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएकोे बताउनुभयो । उहाँले कर्णाली मात्र नभई प्रतिष्ठान सिङ्गो मुलुकको स्वास्थ्य अवस्थामा कोसेढुङ्गा साबित हुँदै गएको तर्क गर्नुभयो । प्रतिष्ठानका संस्थापक एवं पूर्वमन्त्री नरेश भण्डारीले पिछडिएको क्षेत्रको जीवनमा नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताउनुभयो । उहाँले सेतो हिउँमा एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना बोकेका कर्णालीवासीको व्यग्र प्रतीक्षा पूरा भएको जनाउनुभयो ।
उपकुलपतिले प्रतिष्ठानका पहलकर्ता, सरकार, सरोकारवाला र स्थानीयको सहयोगले प्रतिष्ठान कोशेढुङ्गा सावित भएको बताउनुभयो । कर्णाली रोग, भोक र गरिबीको पर्याय नभई प्रतिष्ठानले मुलुकको स्वरुप बदल्न सहयोग पु¥याउने दाबी गर्नुभयो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा।श्रीकृष्ण गिरीले धेरै कठिन परिस्थितिमा कर्णालीमा जन्मिएको यो प्रतिष्ठानको महत्व भिन्नै रहेको जनाउँदै प्रतिष्ठानलाई शैक्षिक कार्यक्रम उपलब्ध गराउन प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने पहल समिति संयोजक तथा पूर्वमन्त्री नरेश भण्डारीसहितका जुम्लावासी, डा गोविन्द केसी, नेपाल सरकार र सबैलाई धन्यवाद दिनुभयो ।