काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै ३ प्रत्यासीले समर्थन जनाउनु भएको छ । प्रधानमन्त्री समेत रहनु भएका देउवालाई सभापतिका प्रत्यासी बिमलेन्द्र निधि, ले समर्थन गर्नुहुने भएको छ ।
नेता निधिले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मंगलबार बिहान टेलिफोन गरेर र आफ्नै निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको बताउनुभएको छ ।
पहिलो चरणको निर्वाचनमा आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणको मतदानमा सभापति पदमा देउवालाई समर्थन गर्दै अमूल्य मत प्रदान गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध गर्नुभएको छ ।
उहाँले १४औँ महाधिवेशनमा सभापति पदका लागि हिजो भएको निर्वाचनमा आफूलाई साथ दिने साथीहरु र आफूलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधि साथीहरुप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
यस्तै सभापतिका प्रत्यासी रहनुभएका कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गर्ने बताउनुभएको छ । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।
अर्का सभापतिका प्रत्यासी प्रकाशमान सिंहले पनि प्रधानमन्त्री देउवालाईनै समर्थन गर्नुभएको छ । गृहमन्त्री खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर मंगलबार बिहान सभापतिका प्रत्यासी सिंहलाई भेट्न सिंह निवास चाक्सीबारीमा सिंहलाई मिलेर अघि बढ्ने र पार्टीलाई सशक्त बनाउने प्रस्ताव राख्नु भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
उहाँँहरुको सो प्रस्ताव सुनेपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर देउवालाई समर्थन गर्ने बताउनुभएपछि प्रधानमन्त्री देउवा सिंह निवास चाक्सीबारीमा पुगेर सहमति गर्नुभएको हो । नेता सिंहले पत्रकारहरूको कुराकानीमा दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने बताइसक्नु भएको छ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।