काठमाडौँ । राष्ट्रिय बाघ गणनाअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा बुधबारदेखि औपचारिक रुपमा गणना सुरु हुँदैछ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ।
‘गणक तथा प्राविधिकहरुलाई मंसिर २७ र २८ गते तालिम दिएर सबै प्राविधिक तथा सुरक्षालगायतका तयारी पूरा भएको बताउनुभयो ।
बुधबार बिहान ११ बजेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयअन्तर्गतको योजना तथा समन्वय महाशाखाका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवसहितको उपस्थितिमा औपचारिक कार्यक्रममार्फत गणनाको सुरुवात हुनेछ।
राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएको हो। सोही अभियानअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा बुधबारदेखि सुरु हुन लागेको हो।
गणनामा खटिने करिब १०० जना गणकलाई सात समूहमा विभाजन गरिएको र एउटा समूहमा कम्तीमा ६ जना रहने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
‘बाँके–बर्दिया कम्प्लेक्सलाई कुल ८१६ ग्रिडमा विभाजन गरिएको छ, जसमा ९४ वटा ग्रिड माथिल्लो चुरे क्षेत्रमा पर्छन् र बाँके–बर्दिया कम्प्लेक्सलाई चार ब्लकमा विभाजन गरेर ग्रिड बनाइएको छ ।
सबै ग्रिडमा क्यामरा जडान गरिने र ती क्यामराले कम्तीमा १५ दिनसम्म बाघलाई निगरानी गर्ने उहाँले जानकारी दिनुभयो । एउटा ब्लकमा गणनाका लागि २२–२३ दिन लाग्ने हुँदा बाँके–बर्दिया कम्प्लेक्समा गणना पूरा गर्नका लागि करिब तीन महिना लाग्ने बताउनुभयो।
औपचारिक कार्यक्रम लगत्तै गणकहरुले बर्दियाको कर्णाली फ्लड प्लेनतर्फबाट गणना सुरु गर्नेछन्। गणकहरु बिस्तारै पूर्वतिर सर्दै जाने प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
बाघ पाइने क्षेत्रलाई तीन भागमा विभाजन गरेर गणनाको सुरु भएको हो। चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना हुँदैछ। चितवन–पर्सामा खटिएको टोलीले नै शुक्ला–लालझाडी–जोगबुढा कम्प्लेक्समा गणना गर्नेछ।
पछिल्लो पटक सन् २०१८ मा भएको गणनाअनुसार नेपालमा बाघको संख्या २३५ थियो। सो तथ्यांकअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ छन्। तर अहिले यो संख्या बढेको अनुमान छ। सन् २०२२ सम्ममा बाघको संख्या २५० बनाउने लक्ष्य पूरा हुने अपेक्षा रहेको संरक्षणकर्मीले बताएका छन्।