सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नुभएको छ । नेपाली सेनाले निर्माण गरेको उक्त संग्रहालयको बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो। संग्रहालयको उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सिन्धुलीगढी संग्रहालय नेपालकै पहिलो युद्ध संग्रहालय रहेको बताउनुभयो । उहाँले नेपाललाई बिश्वमा चिनाउने, नेपाली भनेर पहिचान दिलाउने स्थानहरुमध्ये सिन्धुलीगढी पनि एक रहेको बताउनुभयो । राष्ट्रति भण्डारीले ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र संबद्र्धन गर्नु सम्पूर्ण नेपालीको कर्तब्य रहेको बताउनुभयो ।
विक्रम संवत १८२४ मा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएरको ऐतिहासिक ठाउँ सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा उक्त लडाइँ स्मरण गराउने सामग्रीहरु राखिएको छ । संग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामांकन गरिएको छ भने ६ हजार २८१ स्क्वायर फुटको यो संग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु सबैजसो राखिएको छ । संग्रहालयभित्र वृतचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्त्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ ।
आन्तरिक सजावट, योद्धाहरुको सालिक, तथा अन्य निर्माणमा नगरपालिकाले लगानी गरेको उक्त संग्राहलय प्रदेश र संघ सरकारको सात करोड रुपैयाँ लागतमा निर्माण भएको वर्दबहादुर गणका गणपति विजय थापाले जानकारी दिनुभयो ।
नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढी, मकवानपुरको मकवानपुरगढी, रौतहटको समनपुर र रुपन्देहीको जितगढी युद्धमा हराएको इतिहास रहेकोले ती स्थानमा नेपाली सेनाले युद्ध संग्रहालय बनाउने योजना अघि सारेको बताइएको छ । कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको २४ सयको संख्यामा रहेको अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिंगालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएका थिए । गोर्खाली फौजको नेतृत्व वंशु गुरुङले गरेको इतिहासमा उल्लेख छ ।