काठमाडौं । देशभरका तामाङ समुदायबाट क्रियाशील पत्रकारहरुको साझा संस्था 'तामाङ पत्रकार संघ'को छैटौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
स्वयम्भूमा शनिबार आयोजित विशेष समारोहबीच प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन उद्घाटन गर्नुभएको हो । उद्घाटनका क्रममा मन्त्री कार्कीले ६ वटा बत्ती (छ्युमी) बाल्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले तामाङ पत्रकारहरुको समस्याहरु के छन्, त्यसलाई हल गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभयो । उहाँले महाधिवेशनपछि आफ्ना समस्या लिएर मन्त्रालयमा आउन र दुईपक्षीय प्रतिनिधि बसेर समस्या पहिचान गर्ने र समाधानको उपाय खोजिने बताउनुभयो । तामाङ पत्रकार संघको नयाँ निर्वाचित हुने कार्यसमितिलाई अग्रिम बधाई तथा कार्यसफलताको शुभकामनासमेत दिनुभयो
संघका अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा जारी उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष गजुरधन राई, भाषाविद् अमृत योञ्जन तामाङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सन्चु ब्लोन लगायत विभिन्न जातीय संस्थाका प्रतिनिधि, पत्रकार अगुवा र देशभरका प्रतिनिधि सहभागिता रहेको छ ।
महाधिवेशनबाट आजै नयाँ नेतृत्व चयन गर्ने तालिका छ । महाधिवेशनमा झन्डै १ सय प्रतिनिधि सहभागी छन् । महाधिवेशनको बन्दसत्रबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ३, महासचिव, सचिव ३ र १ कोषाध्यक्ष चयन हुनेछ ।
तामाङ पत्रकार संघको हाल २२ जिल्ला, २ प्रदेश, १ प्रवाससहित संघीय समिति रहेको छ ।