काठमाडौं । तामाङ पत्रकार संघको अध्यक्षमा सुवास योञ्जन चयन हुनुभएको छ ।
संघको शनिबार काठमाडौंमा भएको छैटौं महाधिवेशनले योञ्जन तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन तामाङ, उपाध्यक्षहरु विश्वराज लामा, नेत्र तामाङ, महिला उपाध्यक्षमा अञ्जु डिम्दोङ, महासचिव तीर्थमान बल, सचिव शिशिर दोङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ, कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा इकमान लामा, युनिक रक्ष ग्लान, रमिला तामाङ, मिक्साङ वाइबा, राजेश रुम्बा लामा, किशोरकुमार ब्लोन, सोङबहादुर लो राजु, मिलनकुमार लामा, हिरामान बल, गमला लामा, जीबी लामा, शान्ति तामाङ, अनुप योञ्जन, मानवी मोक्तान, रामचन्द्र तामाङ, कृतिका ग्लान, मिङ्मा लामालगायत छन् ।
संघ'को राष्ट्रिय महाधिवेशन स्वयम्भूमा शनिबार आयोजित विशेष समारोहबीच प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले तामाङ पत्रकारहरुको समस्याहरु के छन्, त्यसलाई हल गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभयो । उहाँले महाधिवेशनपछि आफ्ना समस्या लिएर मन्त्रालयमा आउन र दुईपक्षीय प्रतिनिधि बसेर समस्या पहिचान गर्ने र समाधानको उपाय खोजिने बताउनुभयो ।
संघका अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा जारी उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष गजुरधन राई, भाषाविद् अमृत योञ्जन तामाङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सन्चु ब्लोन लगायत विभिन्न जातीय संस्थाका प्रतिनिधि, पत्रकार अगुवा र देशभरका प्रतिनिधि सहभागिता थियो ।
महाधिवेशनमा झन्डै १ सय प्रतिनिधि सहभागी थिए । तामाङ पत्रकार संघको हाल २२ जिल्ला, २ प्रदेश, १ प्रवाससहित संघीय समिति रहेको छ ।