नेपालमा अहिले जाडोयामको मध्य बेला हो । हिमाली क्षेत्रमा हिमपात, तराईमा तुषारोले दैनिक नागरिकको जीवनमा कष्टकर भइरहेको छ । यो समयमा धेरैजसो बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिहरु बढी प्रभावित हुँदै आइरहेका छन् ।
चिसोको मौसममा बालबालिकालाई कसरी सुरक्षित राख्ने, चिसोबाट जोगाउनका लागि के के गर्ने, स्वास्थ्यमा सामान्य समस्या देखिँदा घरेलु उपचार कसरी गर्ने र अविभावकले ध्यान दिनुपर्ने विषयमा प्राध्यापक तथा नर्स सुरक्षा सुवेदीले जानकारी दिनुभएको छ । उहाँ लामो समयदेखि एसियन कलेज फर एडभान्स स्ट्रडिजमा अध्ययन गराउँदै आउनु भएको छ ।
चिसो मौसममा बालबालिकाको स्वास्थ्यमा समस्या आउन नदिने के गर्नुपर्छ ?
चिसोको समयमा हाम्रो शरीरको सबै नसाहरु खुम्चाएको हुन्छ । नसाको काम भनेको एउटा ठाउँबाट अर्को ठाउँमा रगत संचालन गर्ने काम हुन्छ । त्यही नसा चिसोबाट खुम्चियो भने रक्त संचार राम्रोसँग हुन सक्दैन । रगतमा रोगसँग लड्न सक्ने क्षमताको कोषहरु हुन्छ । त्यसैले चिसोका समयमा शरीरमा राम्रोसंग रगत संचालनका लागि शरीरलाई तातो बनाइराख्नुपर्छ । चिसोको मौसममा बालबालिकालाई धेरै कुरा थाहा नहुने भएकोले अभिभावक र शिक्षक/शिक्षिकाहरुले धेरै कुरामा ध्यान दिनुपर्छ ।
चिसोको समयमा नसा खुम्चिने र राम्रोसँग रक्त संचार हुन नसक्दा टाउँको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, पेट दुख्ने र ज्वरो आउने जस्ता स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् । चिसोमा स्वास्थ्यमा समस्या आउन नदिनको लागि अथवा सामान्य समस्या आएको खण्डमा अस्पताल नै धाउनुपर्छ भन्ने मलाई लाग्दैन । घरमै बसेर पनि सबै समस्या समाधान या रोग लाग्नै नदिन र उपचार गर्न सकिन्छ ।
मुख्यत: सबैभन्दा ठूलो औषधि चिसोको समयमा घाम हो । बालबालिकालाई बिहानको घाममा अझ राम्रो हुन्छ । घामले शरीर तताउने र रगत संचालनमा मद्दत पुर्याउँछ भने भिटामित डी पनि पाउँछ । साथै बालबालिकालाई घाममा राखेर मालिस गर्दा पनि नसाहरु सबै खुल्ने र शरीरको सबै अंगमा रगत पुर्याउने काम जसले गर्दा रोग लाग्न नदिन धेरै मद्दत पुर्याउँछ । साथै मालिस गर्दा बालबालिकाको हातखुट्टा बलियो पनि बनाउँछ ।
चिसोको समयमा बालबालिकालाई सुन्तला खुवाउँदा पनि राम्रो हुन्छ । चिसो लाग्छ भनेर धेरैले खुवाउनु हुन्न तर अहिले सुन्तलाको सिजन भएको हुँदा केही पनि नकारात्मक असर गर्दैन ।
धेरै लामो समयसम्म घाममा बस्दा शरीरको पानी घामले सोच्ने भएको हुँदा सुन्तलाले राम्रो गर्दछ । सुन्तलामा भिटामिन सी पनि हुने भएकोले बालबालिकालाई रोग लाग्नबाट केही हदसम्म भए पनि जोगाउन सक्छ भने शरीरमा पानीको मात्रा पुर्याउँछ । बिहान उठेपछि बालबालिकालाई मनतातो पानी खान दिँदा पनि राम्रो हुन्छ । बेलुका सुत्ने बेलामा पनि मन तातोपानी कि दूध खुवाउँदा राम्रो हुन्छ । बालबालिकालाई चिसोको समयमा ताजा र तातो खानेकुरा खुवाउनु पर्छ ।
अर्को कुरा विद्यालयमा बालबालिकालाई टिफिन घरबाट पठाउँदा चिसो मौसममा त खाजा खाने समयमा चिसो भइसकेको हुन्छ । त्यस्ता खानेकुराले पेट दुख्ने समस्या निम्त्याउने हुँदा घरबाट खाजा लगेर चिसो खुवाउनुभन्दा विद्यालयमा नै ताजा र स्वास्थ्यवर्दक खानेकुरा खुवाउदा राम्रो हुन्छ ।
कुन उमेरका बालबालिकामा चिसोको समयमा बढी समस्या आउँछ ?
समस्या त सबै उमेरको बालबालिकामा आउँछ । तर ५ वर्षभन्दा मुनिका बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता कम हुने भएको हुँदा त्यस्ता उमेर समूहको बालबालिकालाई यो समयमा धेरै ख्याल गर्नुपर्ने हुन्छ । आमाको दूध खाने बालबालिका छ भने घाममा राख्ने दूध खुवाउने गर्नुपर्छ । राति सुत्दा टोपी र मोजा अनिवार्य नै लगाउनु पर्ने हुन्छ । टाउको, पैताला र हातबाट पनि चिसो पस्ने हुँदा यी कुरामा अविभावकले ध्यान दिन जरुरी हुन्छ ।
तर चिसो पस्छ भनेर धेरै कपडा लगाउदा पनि पसिना आएर लगाएको कपडा भिज्ने र त्यहीबाट चिसो लाग्ने निमोनिया हुने सम्भावना भएको हुँदा यी कुरामा ध्यान दिनुपर्छ । पसिना धेरै आउने बालबालिकालाई कम कपडा लगाउनुपर्ने हुन्छ । बालबालिकालाई अविभावकसँगै सुताउँदा पनि तातो हुने र चिसोबाट बचाउन सकिन्छ । चिसो लाग्छ भन्दैमा झ्यालढोका सबै बन्द गरेर सुत्ने चलन पनि छ । यस्तो गर्दा निसासिने धेरै घटनाहरु हामीले सुन्दै आइरहेका छौं । सानाभन्दा साना बालबालिकालाई धेरै कपडा ओढाउँदा त्यही कपडाले मुख छोप्ने अनि निसासिन पनि सक्छ । त्यसैले अभिभावकले बालबालिकालाई चिसोबाट बचाउनको लागि धेरै ख्याल गर्नुपर्ने हुन्छ ।
सामान्य समस्यामा पनि बालबालिकालाई अस्पताल लानू र औषधि खुवाउनु कतिको राम्रो हो ?
बालबालिकालाई केही भयो भने अस्पताल लगेर औषधि खुवाएपछि मात्रै ठीक हुन्छ र यही नै ठीक हो भन्ने हाम्रो सोचाई बनेको छ । तर बालबालिकालाई सानै उमेरदेखि औषधिको बानी पर्यो भने पछि अन्य सामान्य रोग लाग्दा पनि औषधि नै खुवाउनु पर्ने अवस्था आउन सक्छ । बालबालिकालाई भाइरसले पनि समस्या ल्याइरहेको हुन्छ । एन्टिवायोटिक औषधि खुवाउनु हुन्छ जस्ले भाइरसलाई मार्दे मार्दैन । रुघाखोकी भनेको एक हप्तासम्म औषधि खुवाए पनि नखुवाए पनि लाग्छ । औषधिले झन् नकारात्मक असर पर्न सक्छ । बालबालिकालाई सानैदेखि औषधि खुवाउने बानी नबनाउनु होला । औषधि खुवाउने बानी बसाल्नु भएन भने रोगसँग लड्नको लागि शरीरले आफै किटाणु निकाल्छ । औषधि खुवाउने बानी छ भने शरीरले रोगसँग लड्ने किटाणु निकाल्न छोड्छ र त्यसको लागि औषधि नै खुवाउनुपर्ने हुन्छ । त्यसैले सामान्य समस्यामा पनि अस्पताल लाने औषधि नै खुवाउनुपर्छ भन्ने जरुरी छैन ।
चिसोमा बालबालिकाको स्वास्थ्यमा आएको समस्याको घरायसी उपचारहरु के के हुनसक्छन् ?
गर्मी होस या जाडो दुवै समयमा हाम्रो शरीरलाई पानीले रोग लाग्नबाट धेरै मद्दत गर्दछ । चिसोको समयमा मनतातो पानी पिउनु भयो भने धेरै रोग लाग्नबाट बचाउन सक्छ । पानीसँगै ताजा खानेकुरा बालबालिकालाई खुवाउने अण्डा, सुन्तला, दूध, बदामजस्ता खानेकुरा खुवाउन सकिन्छ । कालो चियामा तुलसीको पात राखेर खाँदा पनि राम्रो हुन्छ । यस्तै बेसार, अदुवा, पानीमा उमालेर खुवाउने, साथै कागती, मह पनि खुवाउदा राम्रो हुन्छ ।
विद्यालय जाने उमेरका बालबालिकाको हकमा भने धेरै चिसो छ भने केही समय विद्यालय बन्द गर्ने अथवा बालबालिकालाई घाममा राखेर पढाउँदा पनि राम्रो हुन्छ ।
भिडियो