काठमाडौं । नेकपा (माओवादी केन्द्र) को ओठौं महाधिवेशनको बुधबार चौथो दिन बन्दसत्रमा पार्टी अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी छ । पुस ११ आइतबारबाट कमलादीको प्रज्ञा प्रतिष्ठानमा भइरहेको महाधिवेशनमा स्वास्थ्यकर्मीहरु पनि उत्तिकै खटिरहनुभएको छ । देशभरबाट महाधिवेशनमा आउनुहुने प्रतिनिधि, परिवेक्षक र माओवादीका नेता तथा कार्यकर्ताको स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।
कोभिड—१९ र महाधिवेशनस्थलमा हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरु खटाइएको छ । माओवादी निकटको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष प्रोफेसर डाक्टर कृष्ण सागर शर्माको नेतृत्वमा स्वास्थ्य सेवा प्रदान गर्ने काम भइरहेको छ । महासंघका उपाध्यक्ष भिमा गौतमको अनुसार महाधिवेशनको भित्रि बन्दसत्रमा ढेड सय स्वास्थ्यकर्मी परिचालित रहेको छ ।
यस्तै प्रतिनिधि बस्नुभएको होटल, धेरै जमघट भएको स्थानमा डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मी रोटेसनमा खटाइएको छ । यस्तै महाधिवेशनस्थलमा कोरोना नियन्त्रणको संगै अन्य रोगको बारेमा सूचनाको पम्प्लेट राख्ने र वितरण गर्ने काम भइरहेको छ ।
एमबुलेन्स,मोवाइल गाढीको व्यवस्थापन संगै दिर्घरोगी र अन्य सामान्य व्यक्तिको पनि होलबडी परिक्षण गर्नेकाम भइरहेको उपाध्यक्ष गौतमले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँको अनुसार अहिले महाधिवेशनमा आउँनुहुने २२ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । प्रदेश अनुसार तालिका मिलाएर स्वास्थ्य परिक्षणलाई पनि प्राथमिकतामा राख्ने काम महासंघको नेतृत्वमा भइरहेको छ । मंगलबार महाधिवेशनको तेस्रो दिन प्रदेश नम्बर ५ र ६ नम्बरको प्रतिनिधि परिवेक्षक, स्वयंमसेवकको बिहान ७ बजेदेखि स्वास्थ्य परिक्षणको काम भइरहेको छ ।
उपचारको लागि उपत्यकामा १५ वटा अस्पताल तयारी अवस्थामा राखिएको छ । वीर अस्पताल,पाटन अस्पताल, मोडेल अस्पताल, टिचिङ अस्पताल,सिभिल अस्पताल,काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज लगायतका अस्पतालहरु तयारी अवस्थामा राखिएको छ । यस्तै नर्भिक र अल्का अस्पताल कोडिनेशनमा रहेको पनि उपाध्यक्ष गौतमले जानकारी दिनुभयो ।