घलेभञ्ज्याङ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण सुरु भएको छ ।
देशभरका सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि भन्दै तत्कालीन सरकारको पालामा पञ्चकन्या ३ घलेगाउँमा शिलान्यास गरिएको १० शय्याको अस्पताल निर्माण सुरु भएको हो । पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले अस्पतालको घडेरी व्यवस्थापन र निर्माण कम्पनीको कारण केही समय ढिला गरी निर्माण थालिएको ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबारदेखि जग खन्ने काम धमाधम भइरहेको छ । जग खन्न दुई डोजर प्रयोग गरिएको छ । उक्त अस्पतालको शिलान्यास संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले गर्नुभएको थियो ।
अस्पतालको ठेक्का भने वल्ड वाइड, वागेश्वरी र जलकुनीदेवी जेभी पाएका छन् । ती कम्पनीले गत साउन १२ गते ८ करोड रुपैयाँमा अस्पताल निर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ ।
अध्यक्ष तामाङले अब निर्माण निरन्तर अघि बढ्ने बताउँदै तत्कालका लागि बजेट अभाव रहेको पनि बताउनुभयो । गत आर्थिक वर्षमा केन्द्र सरकारबाट ८० लाख बजेट छुट्याइएको भए पनि ठेकेदार कम्पनीहरुले समयमै काम सुरु नगरिदिँदा बजेट फ्रिज (फिर्ता) गएकोले गाउँपालिका समस्यामा रहेको अध्यक्ष तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, 'समयमा सम्झौताअनुसार काम नभएर स्वास्थ्य मन्त्रालयमा बजेट फिर्ता गयो । अहिले काम सुरु भइसकेको छ । तर संघ सरकार बजेट निकास गरेको छैन ।'
सुरुमा केन्द्र सरकारले पालिकाको वडा नं ५ भद्रटारमा रहेको स्वास्थ्य चौकीलाई नै १० शय्याको अस्पताल बनाउने भन्ने निर्णयमा पुगेको थियो । तर शिवपुरी गाउँपालिकाको सीमामा रहेको भद्रुटार स्वास्थ्य चौकीले चौघडा, कविलास राउटार र थप्रेक आरुखर्कका नागरिकलाई असुविधा हुने भन्दै गाउँपालिकालले अपायक पर्ने भनेर गाउँपालिका केन्द्र आसपासमा अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो । गाउँपालिकाको पत्रको जवाफ २०७७ कात्तिक २ गते मन्त्रालयले गाउँ कार्यपालिकाले जहाँ बनाउँदा उपयुक्त हुन्छ, त्यही बनाउँदा हुन्छ भनेर पत्र पठाएपछि ३ नम्बरको घलेगाउँमा बनाउने निर्णय गरेको हो । तर अहिले मन्त्रालयले अस्तापताल ५ नम्बरमा बनाउने कुरा रहेछ भन्दै बजेट निकासा गर्न आनाकानी गरिरहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
केन्द्र सरकारले अस्पताल, प्रशासकीय भवनका लागि दिने भनिएको रकम समयमै निकासा नगरिदिँदा पालिका र आफू समस्यामा परेको अध्यक्ष तामाङको गुनासो छ । 'गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयहरु पनि हामीले बनाइसक्यौं तर ६० प्रतिशत रकम व्यहोर्ने भनिए पनि १८ लाख रुपैयाँ भन्दा पैसा पठाएको छैन । पटक-पटक ताकेता गरिरहेको छु मन्त्रालयको योजना महाशाखामा । बेलैमा सम्बोधन नहुँदा लोड गाउँपालिकाले धानिरहनु परेको छ ।'