काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्ड युगको घोषणादेखि प्राङ्गारिक कृषिका विषय उठान भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलको सुझाव पेश गर्ने क्रममा समूह नेताहरुले प्रचण्ड युग घोषणा, कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पर्यावरण जोगाउनका लागि प्राङगारिक कृषिको प्रस्ताव राखेका हुन् ।
माओवादी केन्द्र वाग्मती प्रदेशका अध्यक्ष समेत रहनुभएका २३ नम्बर समूह नेता सरल सहयात्री पौडेलले माओवादी आन्दोलनका क्रममा विकसित गरेका समग्र विचार श्रृङ्खलालाई संश्लेषण गरेर ‘प्रचण्ड विचार’ भन्नु पर्ने बताउनु भएको हो । त्यसै गरी उहाँले विगत दस वर्षदेखि मुलुक माओवादी आन्दोलनले उठाएका एजेण्डाहरु गणतन्त्र, संघीयता, समानुपातिक समावेशी र धर्म निरपेक्षतामा हिँडिरहेको भन्दै यसको मुख्य नेतृत्वकर्ताका हैसियतमा यो समयलाई ‘प्रचण्ड युग’का रुपमा परिभाषित गर्नुपर्ने बताउनु भयो ।
गण्डकी प्रदेशका अध्यक्ष रहेका टोली नेता गायत्री गुरुङले संविधान जारी गर्दा माओवादी पार्टीले राखेको फरक मत दस्तावेजमा उल्लेख गर्नु पर्ने भन्दै ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति’ व्यवस्था पार्टीको एजेण्डा उल्लेख हुनुपर्ने सुझाव दिनु भएको छ ।
त्यस्तै, मानव स्वास्थ्यको सुरक्षा र पर्यावरण जोगाउनका लागि प्राङगारिक कृषि प्रणालीको अवम्बन गर्ने पार्टीको नीति हुनु पर्ने गुरुङको प्रस्ताव रहेका छ । उहाँले लाभको पदमा दुईपटक भन्दा बढी जान नपाइने र एक पटकमा एकै परिवारका एक जना भन्दा बढी जान नमिल्ने पार्टीको नीति बनाउन माग गर्नुभएको छ ।
त्यसैगरी, कर्णाली प्रदेशका अध्यक्ष तथा १३ नम्बर समूह नेता विमला केसीले केन्द्रीय सदस्य बन्नका लागि वडाबाटै निर्वाचित भएर आउनु पर्ने सुझाव दिनुभएको छ । नेता केसीले भन्नुभयो, ‘नेताको योग्यता कार्यकर्ताले निर्धारण गर्नुपर्छ, कार्यकर्ताले रुचाएको नेता छान्ने पद्धति अपनाउनुपर्छ ।’
समूह छलफलको निष्कर्ष प्रस्तुत गर्दै नेता केसीले समाजवादी क्रान्तिको चरणवद्ध खाकासहितको स्पष्ट कार्यदिशा तय गर्नुपर्ने, समाजवादको आधार तयार पार्ने नमूना स्थानहरु ठोस गर्नुपर्ने र कर्णालीबाट समाजवादको भ्रूण विकास गर्न आफूहरु तयार रहेको धारणा व्यक्त गर्नुभयो ।
२५ समूहमा विभाजित समूहहरु मध्ये महाधिवेशनको चौथो दिन ११ वटा समूहले सुझाव प्रस्तुत गरेका छन् । बिहीबार बाँकी १४ वटा समूह नेताहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । बिहीबार बिहान ११ बजेदेखि बन्द सत्र सुचारु माओवादीले जनाएको छ ।