काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिन समूहगत छलफलका निष्कर्षहरु प्रस्तुत गर्नेक्रम जारी छ ।
प्रज्ञा भवन कमलादीमा जारी बिहीबारको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राख्नुभएको माओवादी केन्द्रले जानकारी दिएको छ । महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधानमाथि समूहगत छलफल भएको थियो । ती प्रतिवेदनहरुमाथि छलफलका लागि २५ समूह विभाजन गरिएको छ । बुधबारको बन्दसत्रमा ११ समूहका टोली नेताले समूहगत छलफलको निष्कर्ष सुनाएका थिए ।
बिहीबारको बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य पूर्णाकुमारी सुवेदीले सञ्चालन गरिरहनुभएको छ ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि राजधानीमा जारी छ । बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष ‘प्रचण्ड’बाट प्रस्तुत २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति भइरहेको हो ।
राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२सम्मको समय छुट्याइएको थियो । बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्बाङ राई र हर्कबहादुर नेम्वाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, वाग्मती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो ।