काठमाडौं । नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहनुभएका बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले परराष्ट्रमन्त्री नारायण खड्कासँग उहाँकै कार्यकक्षमा मंगलबार अपराह्न शिष्टाचार भेट गर्नुभयो ।
महासचिवले काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताउँदै बिमस्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पु¥याएको योगदानको प्रशंसा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्रीले महासचिवको नेतृत्वको प्रशंसा गर्दै बिमस्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसै वर्ष हुन लागेको पाँचौँ शिखर सम्मेलनले अहिलेसम्मको प्रगतिलाई बलियो बनाउने र क्षेत्रीय आकांक्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
दुवै पक्षले यस क्षेत्रको अर्थतन्त्र र समाजमा कोभिड–१९ महामारीले पारेको प्रभावको मूल्याङ्कन गर्दै बिमस्टेकको संरचनामार्फत घनिभूत सहकार्यमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।
मंगलबारनै महासचिव लेकफेलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, परराष्ट्र सचिव भरतराज पौड्याल र वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाइ बेग्लाबेग्लै भेटेर व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको सम्पर्कका साथै नेपाल–बिमस्टेक सहयोगका बृहत्तर विषयमा छलफल भएको थियो ।
महासचिव लेकफेलले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।