काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता भेटघाट बन्द गर्नुभएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ।
‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं ।’ स्वकीय सचिवालयको तर्फबाट मल्लले फेसबुकमा लेख्नुभएको छ ।
उक्त निर्णयबाट पर्न गएको अफ्ठ्यारोका लागि सचिवालयको तर्फबाट क्षमा माग्दै स्वकीय सचिव मल्लले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्ने र कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्ने जानकारी दिनुभएको छ।
साथै, केन्द्रीय कार्यालयका केही व्यक्तलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सचिवालयले भनेको छ ।
मल्लले प्रचण्ड पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा विभिन्न राजनैतिक शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपालीहरु, पार्टीपंक्ति तथा शुभेच्छुकहरुद्वारा व्यक्त गरिएको बधाई तथा शुभकामनाको लागि आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।
हालै सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुन: चुनिए पश्चात केही दिन देखि माओवादी नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु खुमलटार निवासमै पुगेर बधाई दिनेको भीड लागेको थियो ।