काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रोयल बगैंचा रेस्टुरेन्ट चलाउने ठेक्का हात पारेको बतास समूहले देशका विभिन्न ठाउँमा राज्यका सम्पत्तिमाथि रजाईं गरिरहेको पोल खुल्दै गएको छ । पशुपति धर्मशालामा ‘फोर स्टार’ होटल चलाइरहेको बतास समूहले पाटन दरबार क्षेत्रको मल्लकालीन सम्पदामा पनि सम्झौता विपरीत व्यापार गरिरहेको खुलेको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईको पालामा ठेक्का सम्झौता भई रेस्टुरेन्टका लागि संरचना निर्माण हुँदै गर्दा बतास समूहको बारेमा चर्चा चुलिएको हो । राजनीतिक नेतृत्व र राज्यका उच्च पदस्थ कर्मचारीसंगको सेटिङमा राज्यका संरचनाहरु कौडीको भाउमा हात पारेर कमाउन पल्केका यो समूहको मिशन नारायणहिटी काण्डा पछि दिनहुँ एक पछि अर्को खुल्दै गएको हो ।
के–के गर्दैछ बतास समूह ?
धर्मशालामा ‘फोर स्टार’ होटल
रायणहिटी छिरेको बतास अर्गनाइजेसनले तिलगंगाको धर्मशाला भाडा लिएर ‘फोर स्टार’ होटल चलाइरहेको छ । धर्मशाला भाडामा लगाउन पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदको स्वीकृति बेगर तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालले २०७५ माघ २९ गते लिज कार्यविधि स्वीकृत गराएका थिए ।
१९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशालामा होटल चलाएबापत मासिक ८ लाख ७८ हजार ४१६ रुपैयाँ तिर्ने गरी २०७६ साल वैशाख ३० गते सदस्यसचिव ढकाल र बतास अर्गनाइजेसनको तर्फबाट ओस्कर बतासले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
पाटन दरबारको मल्लकालीन कोत पाटीमा ‘कफी सप’ र ‘एटीएम’
पाटन दरबार क्षेत्रमा दरबारको पाटी पनि सस्तो दरमा लिएर सम्झौता विपरीत व्यापार गरिरहेको पाइएको हो । पाटन दरबार क्षेत्रको मल्लकालीन कोत पाटीमा रहेको ३३ वटा कवलमध्ये १८ वटा कवल बतास समूह अन्तर्गतको बीपीएस लिजिङले ठेक्का लिएको छ । बीपीएसले नाम परिवर्तन गरेर अहिले बी म्यानेजमेन्ट बनाइएको छ ।
वि.सं. २०७२ साउनमा हस्तकलाका सामानहरुको बिक्री कक्ष बनाउन भनेर टेण्डर आहृवान गरिएको उक्त पाटी १५ वर्षको लागि बतास समूहको बीपीएसले २०७३ फागुनमा ठेक्का पाएको थियो । तर, हस्तकला वा पर्यटकीय वस्तुको बिक्री गर्ने शर्तमा ठेक्का पारेको कम्पनीले अहिले कफी सप र बैंकको एटीएम सञ्चालन गरिरहेको छ ।
पाटन संग्रहालय व्यवस्थापन समितिले पाटीका १८ वटा कवल शुरुमा मासिक ८ हजार ९५ रुपैयाँको दरमा भाडामा दिएको थियो । वाषिर्क रुपमा भाडा बढ्ने शर्तअनुसार अहिले प्रतिपसल मासिक १२ हजार रुपैयाँ पुगेको छ । स्थानीयकाअनुसार मंगलबजार क्षेत्रमा अहिले मासिक ४०–५० हजार रुपैयाँ तिर्दा पनि सटर पाउन मुकिस्ल छ । तर ललितपुरको मुख्य व्यापारिक केन्द्रमा रहेका पसलको भाडा मासिक १२ हजार रुपैयाँ मात्रै भन्ने सुन्दा स्थानीयहरु जीब्रो टोक्छन् ।
नारायणहिटी दरबार संग्रहालयभित्र ‘रोयल बगैंचा रेस्टुरेन्ट’ को तयारी
ऐतिहासिक महत्व बोक्ने नारायणहिटी दरबार संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालनका लागि धमाधम पक्की संरचना बनाइँदै छ । २१ सय ७० वर्गफिटको भवन मासिक जम्मा २ लाख २१ हजार रुपैयाँ भाडा आउने गरी सम्झौता भएकोमा बतास समूहले आफू खुशी संचरना बनाउँदै दसौं रोपनी जग्गा ओगटेको समाचार बाहिरिए पछि उक्त योजना विवादित बनेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईको पालामा २०७७ पुस ५ मा कम्पनी छनोट भई पुस १७ मा संग्रहालय र बतासबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।
राज्यले संरक्षण गर्नुपर्ने ऐतिहासिक महत्वको ठाउँलाई कौडीको भाउमा व्यापारी समूहलाई दिएको भन्दै व्यापक विरोध भए पछि संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा निर्माण कार्य रोक्न लगाइएको छ । यस बारे विस्तृत अध्ययन गरी रिपोर्ट बुझाउन छानवीन समिति समेत गठन गरिएको छ ।
म्याद सकिएको एक वर्षसम्म छोडेनन् पोखरा संग्रहालय, २५ वर्ष म्याद थप्न ताकेता
बतास समूहले पोखरास्थित गण्डकी संग्रहालयको जग्गा र भवन पनि ओगटेको छ । पुरातत्त्व विभागमातहत नयाँबजारमा रहेको तत्कालीन क्षेत्रीय संग्रहालय हाल प्रदेश सरकार मातहतमा रहेको छ । संग्रहालयको पश्चिमपट्टि मूल सडकसँग जोडिएको जग्गा र भवन बतास ब्रदर्स मोटर्स प्रालिले २०६७ माघ ३ देखि लागू हुने गरी १० वर्षका लागि भाडामा लिएको थियो । १० वर्षको म्याद सकिएपछि एक वर्षयता संग्रहालयले पटक–पटक ताकेता गरे पनि बतासले छाड्न मानेको छैन । बरु पहुँचका आधारमा २५ वर्ष म्याद थप्न प्रयास गरिरहेको छ ।
बिना भाडा एक वर्षदेखि कृषि सामग्री कम्पनीको सटर र जग्गा
कृषि सामग्री कम्पनी लिमिटेडको पोखरा पृथ्वीचोक र तनहुँ सदरमुकाम दमौलीका जग्गा र सटर लिएको बतासले गत एक वर्षदेखि भाडा नै बुझाएको छैन । पटक–पटक ताकेता गर्दा पनि बतासले आर्थिक वर्ष २०७७र७८ यताको ७३ लाख ७८ हजार भाडा नबुझाएको कम्पनीले जनाएको छ ।
प्रतिमहिना २ लाख ९४ हजार रुपैयाँ भाडामा हरेक वर्ष ५ प्रतिशतका दरले बढ्ने गरी २०६९ जेठ ३० मा कम्पनीका तत्कालीन प्रबन्ध सञ्चालक शशिराज तुलाधर र बतासकी उषा बतासले हस्ताक्षर गरेका थिए । जसको म्याद २०७४ असार २९ मा सकियो ।
थप ५ वर्षका लागि सम्झौता नवीकरण भए पछि पोखरा र दमौलीको जग्गा र सटर बतासले २०७९ असार ३० सम्मलाई भाडामा पाएको छ । यसपल्ट पोखराको भाडा मासिक ४ लाख ३० हजार रुपैयाँ कायम भयो । दमौलीको ३ लाख ५४ हजार रुपैयाँ तोकियो । प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुने प्रावधान यसपल्ट पनि थियो । तर, आर्थिक वर्ष २०७७र७८ को भाडा भने बतासले बुझाएको छैन ।
सेती थुनेर ३५ वर्षसम्म ढुंगा–गिट्टी निकाल्नने तयारी
पोखरा महानगरले सेती नदी थुनेर ३५ वर्षसम्म रामघाटबाट ढुंगा–गिट्टी, बालुवा निकाल्न बतास समूहलाई दिन लागेको छ । पोखरा महानगरले वार्षिक जम्मा ७ करोडका लागि सेती नदी ‘बी रिभर माइनिङ’ कम्पनीलाई जिम्मा लगाउने तयारी गरेको हो ।
सेतीले बगाएर ल्याउने बालुवा रामघाटमा बाँध बनाएर नदी थुन्ने र ढुंगा–गिट्टी तथा बालुवा उत्खनन गर्ने बतासको योजना छ ।
बतास समूहकै योजनामा निजी कम्पनीबाट तयार भएको प्रस्तावअनुसार महानगरले सार्वजनिक–निजी साझेदारी ऐन र नियमावली २०७५ बनाएको थियो । ऐन र नियमावली बनेपछि त्यसकै आधारमा पोखराका प्रमुख प्राकृतिक सम्पदा निजी कम्पनीको जिम्मा लगाउने शृंखला चलेको छ ।
तनहुँको सेल्फीडाँडा अर्थात मानहुँकोटमा बतासको आँखा
देशव्यापी राज्य नियन्त्रित सम्पदा र संरचनामा माथि पकड जमाएका बतास समूहले तनहुँ जिल्लाको मानहुँकोटमा पनि आँखा गाडेको छ । सेल्फीडाँडाका रूपमा चर्चित मानहुँकोटलाई ५० वर्षका लागि भाडामा लिन उक्त समूहले व्यास हिल्स प्रालि खडा गरेको छ ।
व्यास नगरपालिकाले यो कम्पनीसँग सम्झौता गर्न अध्ययन प्रक्रिया अगाडि बढाएको बुझिएको छ । रेस्टुरेन्ट, होटलसहितका पूर्वाधार बनाउन व्यास हिल्स प्रालिले ५० वर्षका लागि जग्गा भाडामा दिन व्यास नगरपालिकालाई प्रस्ताव पेस गरेको छ । प्रस्तावमा केबलकार, जिपलाइन, सिसाको पुल, होटल, रिसोर्टलगायत पूर्वाधार बनाउने उल्लेख गरिएको छ । यस प्रयोजनका लागि कम्पनीले ४० रोपनी जग्गा भागामा माग गरेको नगरपालिकाले जनाएको छ ।