काठमाडौं । तामाङ डाजाङको अध्यक्षमा फूलकुमार बम्जन चयन हुनु भएको छ । काठमाडौंमा शनिबार भएको ‘११ औं अधिवेशन’ र ‘२०९ ग्याईकाई गेताङ’ले बम्जनलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । बम्जन लामो समयदेखि नेपाली संगीत र साहित्यको माध्यममार्फत तामाङ भाषाको संरक्षण, प्रवर्द्धनमा लाग्दै आउनुभएका व्यक्ति हुनुहुन्छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिव यथावत् राख्दै अन्य पदाधिकारी र सदस्यहरु हेरफेर गरिएको हो । कार्यसमितिमा अध्यक्षमा बम्जन, उपाध्यक्षमा मणिकलाल घिसिङ, सचिवमा निकिता लामा, सहसचिव कविराज काल्तान र कोषाध्यक्षमा स्वयंबर सिंह घलान चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा जंग योन्जन, तेज योन्जन, मनिषा लो, वाङजू पासाङ तामाङ, मानकाजी पाख्रिन, निमाजोङ तामाङ, हिरामाया घिसिङ, शुभलाल तामाङ, किशोरी कुमारी तामाङ 'सन्ध्या सुस्केरा' र रचना मोक्तान निर्वाचित हुनुभएको छ । कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ ।
जापानका लागि पूर्वराजदूत डा गणेश योञ्जनको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा भाषाविद् अमृत योञ्जन तामाङ, डाजाङका संरक्षक तथा सल्लाहकार निमा ग्याम्छो बल, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै डाजाङका पूर्वअध्यक्षहरु इन्द्रकुमार तामाङ, बुद्ध योञ्जन, सञ्चु ब्लोन, बेलायतवासी जीत पाख्रिन लगायत पनि साधारणसभा उपस्थिति हुनुहुन्थ्यो ।
आज मुख्यगरी नयाँ कार्यसमिति चयन गर्ने काम भएको र अब संस्थालाई आधुनिक हिसाबले कसरी लैजाने, गाउँ-गाउँमा सरकार बनेको बेला तामाङ भाषा, संस्कृतिलाई कसरी विकास र संवर्द्धन गर्ने भन्ने विषयमा कार्यसमितिको पहिलो बैठकले तर्जुमा गरिने अध्यक्ष बम्जनले बताउनुभयो ।
उहाँले डाजाङले लामो समयदेखि काम गर्दै आए पनि राज्यको सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले व्यक्तिगत तवरबाट हुने सहयोगबाट संस्था यहाँसम्म ल्याउन सफल भएको भन्दै संस्थालाई निरन्तरता दिने र आफ्नो उद्देश्यबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभयो । ‘तामाङ डाजाङ’ लामो समयदेखि तामाङ भाषा, साहित्य र संस्कृति संरक्षणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको संस्था हो ।