काठमाडौं । आईतबारको दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समिटिने छ । आज आईतबार नेकपा एमालेको ३४ जिल्ला नेतृत्व टुंगियो, माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस, कोरोनाको नयाँ भेरियन्टविरुद्ध पूर्वतयारी थाल्न मुख्यमन्त्रीको निर्देशन, माघ ३ देखि आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य लगायत समाचार समेटेका छौं ।
१)
नेकपा एमालेको ३४ जिल्ला नेतृत्व टुंगिएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार, ३२ भौगोलिक र दुई गैरभौगोलिक जिल्ला कमिटी चयन भइसकेको छ । १६ बाहेक जिल्लामा शुक्रबार अधिवेशन उद्घाटन भएको थियो । निर्विरोध नेतृत्व चयनमा जोड दिएकाले एमाले जिल्ला अधिवेशन लम्बिएको छ ।
२)
कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ । कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भीडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरानाको बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ । सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ ।
३)
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमविरुद्ध पूर्वतयारी थाल्न निर्देशन दिनुभएको छ । पूर्वी सुर्खेतको मेहलकुना अस्पतालको आज निरीक्षण गर्दै उहाँले स्थानीय तह र स्वास्थ्य संस्थाले महामारी फैलिनु अगावै पूर्वतयारीका कार्यहरू सम्पन्न गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगङ्गा नगरपालिकाको छिन्चुमा ५० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले सुर्खेतसहित सल्यान, जाजरकोट, रूकुमपश्चिम र डोल्पामा अक्सिजन अभाव हुन नदिन मेहलकुना अस्पतालमा ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको बताउनुभयो । कर्णाली प्रदेशमा सुर्खेतका दुई स्थान, दैलेख, रुकुम पश्चिम, कालीकोट र जुम्लामा ठूलो क्षमतामा अक्सिजन उत्पादन हुने भएकाले यसको अभाव नहुने उहाँको भनाइ थियो ।
४)
सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । त्यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलमा भेला हुन र यात्रामा प्रतिबन्धात्मक व्यवस्थाहरु गरेको हो ।
५)
लुटेराहरूको आक्रमणमा परी नाइजेरियामा मृत्यु भएकाहरूको सङ्ख्या २०० भन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौँ विस्थापित पनि भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । यसअघि शुक्रबार बन्दुकधारीहरूको आक्रमणमा परी कम्तीमा १४० भन्दा बढीको मृत्यु भएको दाबी गरिएको थियो । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा निर्दोष नागरिकहरूको हत्या गरेको जनाइएको छ । स्थानीय एक नेताले लुटेराहरूको समूहले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेको बताएका छन् । आक्रमणकारीका सयौँ लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन् । आक्रमणकारीहरूले घरघरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनापछि आइतबार पहिलो प्रतिक्रिया दिँदै मानवीयता मामिला मन्त्री सादीया उमर फारौकले घटना अत्यन्त दुःखद् र दर्दनाक भएको बताउनुभएको छ ।