काठमाडौं । सोमबारको दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समिटिने छ । आज सोमबार भोली देखी माघ १५ गतेसम्म विद्यालय बन्द, प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ, पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना संक्रमण पुष्टि, नेप्सेमा दोहोरो अङ्कको वृद्धि, मेडिकल कलेजले चर्को शुल्क असुलेको प्रति बिरोध र नेत्री सुकीलाई चार वर्ष जेल सजाय लगायत समाचार समेटेका छौं ।
१)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमण समेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ ।
२)
प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको निजी सचिवालयले उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बस्नुभएको थियो । प्रचण्डलाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्ड पनि सहभागी हुनुभएको थियो । प्रचण्डलाई कोभिड देखिएपछि देउवालाई पीसीआर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएका थिए ।
३)
पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले सोमबार जानकारी गराउँदै ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो । २५५ जना कोरोना निको हुनुभएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८ लाख १४ हजार ४८५ अर्थात ९७ प्रतिशत रहेको छ । कोरोना संक्रमणको कारण २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ६ रहेको छ ।
४)
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९।४३ अङ्कले उकालो लागेर दुई हजार ७८४।९५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।१६ ले बढेर ५२२।५३ मा पुगेको छ । कूल २३६ कम्पनीको एक करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मूल्यमा कारोबार भयो । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ३४ अर्ब २८ करोड २४ लाख ५० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर भने उकालो लागेको छ ।
५)
सात विद्यार्थी सङ्गठनहरुको संयुक्त बैंठक सम्पन्न भएको छ । बैठकले नोवेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजको एमबिबिएस,बिडिएस र बिएनएसका २०२१ ब्याचका विद्यार्थी बाट चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने गरेको विषयमा छलफल भएको छ ।
बैठकमा विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने निर्णय विरुद्ध आफू अध्ययनरत कलेजमा स्वतस्फूर्त रूपमा गरिरहेको आन्दोलन प्रती संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट पुर्ण रुपमा ऐक्यबद्धता जनाएको छ ।
६)
म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ। नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई फेब्रुअरी १ देखि हिरासतमा राखिएको छ ।
हाल म्यनमारको सैनिक शासन यता १,४०० भन्दा बढी नागरिकहरू मारिएका छन्, थुप्रै पक्राउ परेका छन् र शृङ्खलाबद्ध विद्रोहहरू भइरहेका छन् । स्रोतले एएफपीलाई दिएको जनाकारी अनुसार ७६ वर्षीय वृद्धालाई अवैध रूपमा वाकी(टकीहरू आयात गर्ने र स्वामित्व राख्ने र कोरोनाभाइरस नियमहरू उल्लंघन गरेको दुई आरोपमा दोषी ठहराइएको छ । जुनटाका प्रवक्ता मेजर जनरल जाव मिन टुनले उक्त फैसला र सजायको पुष्टि गरेका छन् ।