काठमाडौं । मंगलबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समिटिएका छन् । आज मंगलबार राति १२ बजेदेखि स्मार्ट लकडाउन, कोरोना संक्रमणको संख्या फेरि बढ्न थाल्यो, प्रदेश २ को राजधानी र नामका लागि पुन: मतदान,नेप्से परिसूचक उच्च अंकले वृद्धि, एपीएफको लगातार दोस्रो जित,ओमिक्रोनको सामना गर्ने इजरायली रणनीति लगायत समाचार समेटेका छौं ।
१)
काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि लागू हुनेगरी सरकारले स्मार्ट लकडाउन लगाएको छ । उपत्यकामा कोरोना संक्रमणबढेसंगै मंगलबार तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनु सहित कडाइ गर्ने निर्णय गरेको हो । सुचनाजारी गर्दै सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको हो । सूचनाअनुसार सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन उल्लेख गरिएको छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय बन्द गर्ने लगायत निर्णय भएको छ । निर्णयलाई ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरिएको छ । स्मार्ट लकडाउनको सूचना आज मध्यराति १२ बजेदेखि लागू हुनेछ ।
२)
नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्या फेरि बढ्न थालेको छ । एकै दिनमा २४ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा १५ हजार ३३ जनाको कोरोना नमुना परिक्षण गर्दा २४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा कोरोना निको हुनेको संख्या ३१३ रहेको छ । यो संख्या नेपालमा कोरोना संक्रमण निको हुनेको दर ८ लाख १४ हजार ७५८ अर्थात ९७.५ प्रतिशत रहेको छ । एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ९ हजार ५२२ सक्रिय संक्रमितको संख्या रहेको छ ।
३)
प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरुबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो । प्रदेशको नाम र राजधानी सम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेशसभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानीसम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो । सो समितिले विभिन्न चरणमा गरेको छलफल तथा राजनीतिक नेतासँग गरेको बैठकमा सहमति जुटाउन नसकेपछि पुनः मतदानद्वारा नै ती प्रस्ताव टुङ्गो लगाउने दलहरुबीच सहमति भएको छ ।
४)
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अंकले वृद्धि भई दुई हजार ८३४.१३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अंकले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर ओरालो लाग्दा एक कम्पनीको शेयर मूल्यमा भने कुनै उतारचढाव आएन । कूल एक करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर रु ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ मूल्यमा खरिद बिक्री भए । मंगलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब तीन अर्ब ७६ करोड ५८ लाख ४२ हजार २७ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ८३ लाख २२ हजार ६९५ बराबरको कारोबार भयो ।
५)
अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टाएको छ । एपीएफको जितमा लोकेशले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । लोकेशले २४ बलमा १० चौका र एक छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरी ३६ र सन्दीप जोरा १५ रनमा अविजित रहँदा आसिफ शेखले १२ रनको योगदान दिए । बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिशत जिसीले एकरएक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार गरेको थियो । बागमतीका ओपनर ईशान पाण्डेले २९ रन बनाए । यस्तै सुभाषले २१ रन जोडे भने नन्दन यादवले २४ र आदिल खानले १८ रनको योगदान गरे । सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपीएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो । जितसँगै दुई खेलबाट चार अंक जोडेको एपीएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ ।
६)
विशेष गरी इजरायलले कोभिड–१९ विरूद्धको खोपको तीव्र अभियान सञ्चालन गर्न सक्नु र तेस्रो मात्रा लगाउनु पर्ने वा नपर्नेबारे बृहत् अनुसन्धान हुनुभन्दा पहिले ‘बुस्टर डोज’ वा तेस्रो खोप प्रस्ताव गर्ने प्रारम्भिक निर्णयका लागि कोरोनाभाइरस महामारीप्रति इजरायलको प्रतिक्रिया विश्वभर नजिकबाट नियालिएको छ । अहिले इजरायलमा पनि कोभिडको उत्परिवर्तित रूप ‘ओमिक्रोन’ सङ्क्रमण हुनेको सङ्ख्या अत्यधिक छ । मंगलबार ३७ हजारभन्दा बढी थप व्यक्ति कोभिडबाट सङ्क्रमित भएका रिपोर्ट सरकारले गरेको छ ।