काठमाडौं । बिहीबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । एकै दिन ३ हजार ५ सय ५३ जनामा कोरोना पुष्टि, चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने,करारमा रहेका स्वास्थ्यकर्मीको म्याद थप्न र रिक्त स्थानमा व्यवस्थापन, नेप्सेमा उच्च अंकको वृद्धि,सुदूरपश्चिम प्रदेश विजयी,अन्तर्राष्ट्रिय मञ्चको आयोजना लगायत समाचार समेटेका छौं ।
१)
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकमा १५ हजार ८१ जनाको नमुना परिक्षण गर्दा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २७१ जना कोरोना निको भएको पनि मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ रहेको छ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १० पुगेको छ । २४ घण्टामा ३ लाख ५६ हजार ४ जनाले कोरोना विरुद्धको खोप लगाएको छ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । ति मध्ये १२२ क्वारेन्टाईनमा रहेका छन् ।
२)
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताउनुभएको छ । मुख्यमन्त्री राईले आज विराटनगर सीमा क्षेत्र रानी र होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण पश्चात चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन निर्देशनसमेत दिनुभयो । जुटमिलभित्र प्रदेश सरकारको लगानीमा नेपाली सेनाको नेतृत्वमा निर्माणाधीन एक हजार शय्यामध्ये तत्काल चार दिनभित्र १०० र आगामी १५ दिनभित्रमा २०० शैयया सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले होल्डिङ सेन्टरमा विद्युत् र पानीको व्यवस्था गरी शौचालयको व्यवस्था गर्न निर्देशन दिनुभयो । कोरोना नियन्त्रण तथा समुदायमा सङ्क्रमण फैलिन नदिन अविलम्ब कदम चाल्नुपर्ने उहाँले आवश्यक्ता औँल्याउनुभयो । मुख्यमन्त्री राइले होल्डिङ सेन्टर निर्माण गर्नका लागि रकमको अभाव हुन नदिने प्रष्ट पार्दै जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
३)
चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहनुभएको छ । आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताउनुभयो । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।
४)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढिहरेको भन्दै जनशक्तिको व्यवस्थापन एवं म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएका तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको छ। सूचनाजारी गदै करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने जनाएको छ ।
५)
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अङ्कले उकालो लागेर दुई हजार ८५७.७५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अङ्कले वृद्धि भइ ५३०.८३ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजारको हाराहारीमा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । सो उपसमूह ३.४१ अङ्कले ओरालो लाग्दा बैंकिङ ९.८७, व्यापार ८३.४५, होटल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत् १५८.४७, वित्त ९२.५९, निर्जीवन बीमा २८८.५६, उत्पादन १२७.३३, लघुवित्त १७४.३४, जीवन बीमा ३४९.६१, सामूहिक लगानी कोष ०.१५ र लगानी ३.०५ अङ्कले उकालो लागेको छ ।
६)
प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछयाउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिनुभयो । उहाँले ४३ बल खेल्दै चार चौका हान्नुभयो ।
७)
बेलारुसले बुधबार चीनसँगको कूटनीतिक सम्बन्धको ३०औँ वार्षिकोत्सव मनाउन यहाँ अन्तरराष्ट्रिय मञ्चको आयोजना गरेको छ । बेलारुसका प्रथम उपप्रधानमन्त्री निकोलाई स्नोपकोभले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यले महत्वपूर्ण नतिजा निम्त्याएको बताएका छन् । स्नोपकोभले चीनले बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत अन्तरराष्ट्रिय व्यापारलाई सुदृढ गर्न सक्ने र चीन–बेलारुसको व्यापक रणनीतिक साझेदारीलाई सुदृढ पार्न सक्ने उल्लेख गरेका छन् । चीन र बेलारुसले पारस्परिक विश्वास र विजयी सहयोगको आधारमा विभिन्न क्षेत्रमा सहयोग गर्दै छन् ।