पोखरा । युकेबाट संचालित गोर्खा मिडिया डट कमले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्कृतिकर्मी गमबहादुर गुरुङ(गजेन्द्र), लोकगायिका नन्दा पुनलाई पुरस्कृत गरेको छ। गत भदौ २९ गते एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेशको अवसरमा जुम भचुअलमार्फत प्रथम वार्षिकोत्सव मनाएको गोर्खा मिडिया डट कमले शुक्रबार पोखरा ९ नयाँ बजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा कला संस्कृति क्षेत्रका गुरुङ, लोक गायनतर्फबाट पुनलाई कार्यक्रमका प्रमुख अतिथि गोर्खा मिडियाका सल्लाहकार एवं तमु प्ये ल्हु संघका सल्लाहकार प्रमुख मेजर खुशीमान गुरुङ एमभिओ, मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले जनही १० हजार रुपैयाँ नगदसहित सम्मानपत्र, दोसल्लाबाट पुरस्कृत गर्नुभएको हो ।
यसरी नै कार्यक्रममा मिडियाका सल्लाहकारहरु मे.खुशीमान गुरुङ, सल्लाहकार एवम् सम्पादक हुमबहादुर गुरुङ, सल्लाहकार दिपेन्द्र श्रेष्ठ र सल्लाहकार सुदर्शन रञ्जितलाई समेत प्रशंसा पत्र प्रदान गरिएको छ भने गोर्खा मिडियाका प्राविधिक क्षेत्रका वेज डिजाइजर ओम लामालाई सम्मान गरिएको थियो । लामालाई पनि १० हजार राशिसहित सम्मान गरिएको हव ।
सत्य तथ्य, ताजा समाचार सम्प्रेषणसहित सामाजिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यसहित सञ्चालित मिडियाको वार्षिकोत्सवमा घोषित विविध क्षेत्रका स्रष्टाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि मे.खुशीमान गुरुङले लामो समयदेखि फोटो ग्राफरसहित मिडियाकर्मीको रुपमा सक्रिय मिलन तमुले युकेबाट संचालन गरेको गोर्खा मिडिया डट कमले पहिलो वर्षमै राम्रो सफलता हासिल गर्दै सामाजिक सेवामा समर्पित हुँदै उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
गोर्खा मिडियाले आफ्नो मिडिया क्षेत्रको भूमिकासँगै सामाजिक एवम् मानवीय सेवामा योगदान दिँदै अघि बढ्नु समाजका लागि मिडिया भन्ने अत्यन्तै सरहानीय सन्देश दिन सफल रहेको उहाँले बताउनुभयो। मिडियाको नाम गोर्खा मिडिया राखिए पनि गोर्खा मिडिया डट कम सबैको भावना सम्बोधन गर्ने संचारमाध्यम बनेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा सम्मानित गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य गमबहादुर गुरुङ(गजेन्द्र)ले लामो समय कला एवम् सांस्कृतिक क्षेत्रमा लागे पनि गोर्खा मिडियाको सम्मानले आफूहरु अत्यन्तै खुसी भएको बताउनुभयो । उहाँले कला संस्कृतिको समर्पण रहँदा धेरै पटक अपमानित हुनुपरेको तिक्तताहरु रहे पनि गोर्खा मिडियाको मूल्यांकन अविष्मरणीय रहने बताउनुभयो ।
कार्यक्रममा मिडियाका सल्लाहकार, एमरेष्ट मिडियाका प्रमुख कार्यकारी दिपेन्द्र श्रेष्ठले वरिष्ठ फोटो पत्रकार मिलन तमुको लगाव र परिश्रमले स्थापित गोर्खा मिडियाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले गोर्खा मिडिया छोटो समयावधिमै उत्कृष्ट मिडियाको रुपमा अघि बढिसकेको भन्दै प्रशंसा गर्नुभयो ।
गोर्खा मिडिया डटकमका प्रवन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा मिडियाका सम्पादक तथा तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने गण्डकी प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य जसु गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।