काठमाण्डौ । शुक्रबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । एकैदिन ५ हजार ८७ कोरोना संक्रमित थपिए ,सरकार र मेडिकल सञ्चालकबीच पाँच बुँदे सहमति,एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण,कोरोनाले नुवाकोटका सबै ठाउँमा गोरु जुधाई प्रतिस्पर्धा स्थगित,ए डिभिजन लिगमा एपीएफको दोस्रो जित,नर्वेमा ५देखी ११ बर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने लगायत समाचार समेटेका छौं ।
१)
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४ हजार २०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
२)
सरकार र मेडिकल कलेज सञ्चालकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । एमबीबीएस लगायतका स्नातक तहमा अध्ययनरत विद्यार्थीले सुनील शर्माको केएमसी र नोबेल कलेजले चर्को शुल्क असुल गरेको भन्दै आन्दोलन गरिरहेका बेला शिक्षा मन्त्रालयले शुक्रबार शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा सर्वपक्षीय बैठक गरेको थियो । चिकित्सा शिक्षा आयोग, मेडिकल कलेज सञ्चालक, विद्यार्थी र अभिभावकसहितको बैठकले पाँच बुँदे सहमति गरेको हो । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउनेसहित ५ वटा सहमति भएका छन्। तर सो सहमतिमा केएमसी तथा नोबेलका संचालक सुनील शर्माले भने फरक मत राख्नु भएको छ । उहाँले चिकित्सा शिक्षा ऐनले व्ववस्था गरे अनुसार वैज्ञानिक ढंगले शुल्क निर्धारण नभएको भन्दै सहमतिप्रति फरक मत राख्नु भएको हो ।
३)
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा शु्क्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आफूलाई संक्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।
४)
नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाई प्रतिस्पर्धा नहुने भएको हो । कोरोनाको जोखिम बढेकाले सभा–समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाई मेला स्थगन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमति, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा हुने गरेको गोरु जुधाई मेला यस वर्ष स्थगन भएको छ ।
५)
एपीएफ फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै रेलिगशेन संकटबाट माथि उठ्ने सम्भावना जीवितै राखेको छ । आभाष लामिछानेको निर्णायक गोलमा एपीएफले दोस्रो जित निकाल्यो । पहिलो हाफको इन्जुरी समयमा नविन लामाको कर्नरमा आभाषले उत्कृष्ट हेड गोल गरे । बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनी सदुपयोग गर्न सकेनन् । शेर्पाविरुद्ध एपीएफले तीन विदेशी खेलाडी उतारेको थियो । पहिलो हाफको इन्जुरी समयमा हिमालयन शेर्पाले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । एपीएफका गोलकिपर युया कुरियामाले मिलन राईको प्रहार रोक्दा रिबाउन्डमा प्राप्त बलमा मुताम्बा पिस्टोनले गरेको प्रहार अकासिएको थियो । ६३औं मिनेटमा मिलनको कर्नरमा उलरिच सिइबीले गरेको हेड बाहिरिँदा हिमालयनले खेलमा फर्कने अवसर गुमायो ।
६)
नर्वेमा ५ देखि ११ बर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ । सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ । नर्वेमा यसअघि १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन् ।
उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरुलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ । स्वास्थ्य मन्त्री इङभील्ड जेर्कोलद्वारा जारी वक्तव्यअनुसार सवै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन । ‘निश्चित समूह’का बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले दीर्घरोगी र जटील स्वास्थ्य समस्या भएका अविभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका मुलुकमा जाने बालबालिकालाई खोप नलगाउन सुझाब दिइएको बताउनु भएको छ । नर्वेका वयस्कहरूमध्ये अधिकांशले भने खोपको दुवै मात्रा लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन मिल्ने वयस्क र बृद्धबृद्धामध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् ।