कोरोना संक्रमितको संख्यामा वृद्धि देखी यूएईको ध्वजावहाक जहाजलाई छोड्न राष्ट्रसंघद्वारा आह्वान सम्म
काठमाण्डौ । शनिबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । एकैदिन ४ हजार ६३६ कोरोना संक्रमित थपिए, आज माघे (मकर) सङ्क्रान्ति पर्व मनाईयो,आइतबारदेखि अनलाइन प्रणालीबाट श्रम स्वीकृति जारी हुने,पत्रकार महासंघको बैठकले ९ बुँदे घोषणापत्र जारी गर्यो, यूएईको ध्वजावहाक जहाजलाई छोड्न राष्ट्रसंघद्वारा यमनी विद्रोहीलाई आह्वान लगायत समाचार समेटेका छौं ।
१)
नेपालमा पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१२ जनाको पीसीआर परीक्षणमा ३७०३ र ४ हजार १४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब १ रहेको छ ।
२)
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ ।
३)
वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हालेलगत्तै सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाइ सहजरूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाउने बताउनुभएको थियो । श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालको भनाइ छ ।
४)
कपिलवस्तुको तिलौराकोटमा आयोजित नेपाल पत्रकार महासंघको चौथो केन्द्रीय कमिटी बैठक ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । मिडिया अवार्डका विषयमा विवाद हुँदा केहीबेर अवरुद्ध भइ सहमतिपछि पुनः सञ्चालन भएको बैठक ९ बुँदे घोषणापत्र जारी गरी सम्पन्न गरिएको महासंघका सचिव रोसन पुरीले जानकारी दिनुभएको छ ।
५)
यमनका हुथी विद्रोहीले हतियार बोकेको भन्दै यस महिनाको शुरुमा आफूले बरामद गरेको संयुक्त अरब इमिरेट्सको ध्वजाबहाक जहाजलाई छोड्न अस्वीकार गरेका छन् । जहाज छोड्न संयुक्त राष्ट्रसंघले गरेको अनुरोधलाई शनिबार उनीहरूले अस्वीकार गरेका हुन् । “रुवाबी जहाजले केटाकेटीका लागि खेलौना बोकेको भन्ने दावी गलत हो । बरू यसले कट्टरपन्थीहरूका लागि हतियार कोकेके थियो,” हुथी नेता हुसेन अल अज्जीले भन्नुभयो । इरान समर्थित हुथी समूहले ११ सदस्यीय चालक दलका साथ जनवरी ३ मा होडैडाको ‘रेड सी पोर्ट’ बाट जहाज जफत गरेका र त्यसपछि एउटा भिडियो जारी गरेका थिए । उनीहरूले जहाजमा सैन्य उपकरणहरू भेटिएको दावी गर्दै आएका छन् । संयुक्त अरब इमिरेट्सले रुवाबेलाई ‘नागरिक कार्गो जहाज’ भएको बताएको छ । उक्त जहाजलाई साउदी कम्पनीले भाडामा लिएको र ‘फिल्ड अस्पताल’ मा प्रयोग गरिने उपकरणहरू बोकेर अन्तरराष्ट्रिय पानीमा रहेको कम्पनीले बताएको छ । यमनको राजधानी सानालाई हुथीहरूले सन् २०१४ मा कब्जा गरेपछि मार्च २०१५ देखि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सहयोग गर्न साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनमा हस्तक्षेप गरेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले रूवाबे र यसका चालक दललाई ‘तत्काल रिहाई’ गर्न माग गरेको छ । परिषद्ले ‘एडेन र रेड सीको खाडी अन्तरराष्ट्रिय ढुवानीको लागि एउटा रणनीतिक मार्ग भएको भन्दै ‘‘एडेन र रेड सीको खाडीमा ओहोरदोहोर गर्न पाउने स्वतन्त्रताको महत्वलाई’ जोड दिएको छ ।
६)
भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको छ । भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे यहाँस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ । दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष डा शेष घलेले पाउनुभएको छ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको एनआरएनएको १०औँ महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि सङ्घले घलेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । आज भएको सङ्घको ८१औँ आइसीसी पूर्ण बैठकले घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । समितिमा पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष कुमार पन्त पनि सदस्य रहनुभएको छ । समितिको सदस्यमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहनुभएको छ । बैठकले सङ्घको १०औँ महाधिवेशन तथा आइसीसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषद्मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।