काठमाडौं । आईतबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । नेपाली भूमिमा एकपक्षीय सडक बनाउने काम रोक्न भारतलाई चेतावनी,संक्रमितको संख्यामा वृद्धि एकै दिन ४ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि, ,सिनेमा हल र जिमखाना माघ १५ गतेसम्म बन्द , सेयर बजारमा उत्साहजनक वृद्धि,एकैदिन ९ अर्बको कारोबार,भारतमा थप दुई लाख ७१ हजारभन्दा बढी कोरोना सङ्क्रमित लगायतका समाचार समेटेका छौं ।
१)
सरकारले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो । आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताउनुभएको छ । साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उहाँले बताउनुभयो । दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनभयो । ।
२)
सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
३)
पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।
४)
सेयर बजार परिसूचक नेप्सेमा आइतबार उच्च कारोबार भएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचकमा अधिकतम ६९ अंकको वृद्धि आउँदै २९ सय २६.७४ विन्दुमा उक्लिएको हो । ६९ अंकले बढेको बजारमा आज ९ अर्ब ६७ करोड ६३ लाखको कारोबार भएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.८१ अंकले बढ्दै ५४२.६३ विन्दुमा उक्लिएको छ । यस दिन सबै उपसूचकहरु धनात्मक हुँदै बजार नै हरियाली भएको छ भने आधा दर्जन कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले वृद्धि भएको छ ।
५)
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक एक गोल गरे । ब्रिगेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे । उनले रेजिन सुब्बाले उपलब्ध गराएको बलमा हेडमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ६२औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८४औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले विमलको पासमा गोल गरेका थिए । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अभिषेकले गोल गर्दै मच्छिन्द्रलाई ४–० गोलको जित दिलाए ।
६)
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परिक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या तीन करोड ७१ लाख २२ हजार १६४ पुगेको छ । सोही अवधिमा थप ३१४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । हाल यहाँ सात हजार ७४३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या १५ लाख ५० हजार ३७७ रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ४.१८ प्रतिशत भएको समाचारमा जनाइएको छ ।