काठमाडौं । तामाङ समाज उत्तर अमेरिका (टिएसएनए) ले ‘विश्वव्यापी तामाङ शिक्षा कोष- २०२०’ अवधारणालाई कार्यान्वयन प्रक्रियामा अगाडि बढाएको छ ।
तामाङ समुदायको शिक्षा र चेतनाका लागि भन्दै सन् २०१८ मा टिएसएनएले ल्याएको शैक्षिक कोष संचालनको योजना कार्यान्वयनको चरणमा पुगेको हो । टिएसएनएले शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरेर तामाङ विज्ञहरुबाट सुझावसमेत संकलन गरेको छ । सुरुमा एक करोड रुपैयाँबाट सुरु गरिने कोषको ब्याजबाट तामाङ समुदायका व्यक्तिहरुको शिक्षा विकासमा काम गर्ने मुख्य उद्देश्य रहेको छ । जसअनुसार तामाङ विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक तालिम र लोक सेवा आयोगका तयारी कक्षाहरुमा सहयोग गरिनेछ ।
'नर्थ अमेरिकी तामाङ समुदायको आपत विपतको लागि खडा गरिएको कोष टिएसएनए इर्मेजेन्सी फण्ड—२०१८ को कार्यान्वयन पश्चात संस्थाले सन् २०१९ को पहिलो वार्षिक साधारण सभाबाट ‘ग्लोबल तामाङ एजुकेसन फण्ड—२०२०’ पारित गर्दै यो फण्ड संकलन गर्न थालिएको हो । विश्वका झण्डै ३० देशमा ३ लाखको हाराहारीमा तामाङको बसोबास रहेको छ । प्रवासमा विभिन्न पेसा व्यवसायमा संलग्न तामाङ समुदाय अथवा संघसंस्थाबाट कोष स्थापना गर्न सकेको खण्डमा समुदायको विकासमा टेवा पुग्ने अध्यक्ष लामाले विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष लामाले तामाङ समुदायलाई अगाडि बढाउन शिक्षामा तिरन्तरता र प्रशासनिक क्षेत्रमा बलियो उपस्थितिका लागि लोक सेवा कक्षा संचालन गरिने विषय अवधारणा पत्रमा उल्लेख रहेको जानकारी गराउनु भयो ।
अहिले पनि नेपालका कयौं तामाङ बालबालिका विद्यालय जानबाट वञ्चित भएको अथवा अध्ययन गर्दा गर्दै बीचमै छोड्ने समस्या छ । आम तामाङको शिक्षा र चेतनाका लागि दुरगामी योजनामा अगाडि बढाउन कोष संचालनमा ल्याउन लागिएको अध्यक्ष लामाले प्रस्ट पार्नुभयो ।
शनिबारको कार्यक्रममा शैक्षिक कोष स्थापना, संचालन र कानुनी प्रावधानलगायत विषयमा छलफल गरिएको हो । त्यस क्रममा तामाङ समुदायका विज्ञ तथा अगुवाहरुले विभिन्न खालका सुझाव दिएका छन् । उक्त सुझावहरुलाई हामीले सारांशमा प्रस्तुत गरेका छौं ।
- परशुराम तामाङ, लेखक तथा राजनीतिकर्मी
अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक लेखक तथा राजनीतिकर्मी समेत रहनुभएका परशुराम तामाङले विश्वव्यापी शिक्षा कोष संचालन गर्नु सकारात्मक पक्ष भएको बताउनुभयो । प्रवासमा दु:ख गरेर कमाएको रकमको केही भाग नेपालमा सहयोग गर्नु पवित्र उद्देश्य भएको बताउँदै उहाँले शिक्षाको क्षेत्रमा सरकारको कार्यक्रमलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
उहाँले नेपालको राजनीतिमा पनि तामाङहरु मुस्किलले नेतृत्व तहमा पुग्ने गरेको उल्लेख गर्नुभयो । समाज परिवर्तनका लागि राजनीति निकै महत्वपूर्ण भए पनि नेतृत्व तहमा संख्यागतमा कमै तामाङ समुदाय पुग्ने हुँदा समुदायको पक्षमा आवाज उठाउँदा सुनुवाइ खासै नभएको उहाँको भनाइ छ । साथै उहाँले ३० वटा स्थानीय तहमा तामाङ समुदायको नेतृत्व भएको भन्दै अब आउने निर्वाचनमा यो संख्या बढाउनतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।
कलाकारले तामाङ समुदायलाई सांस्कृतिक चेतनाको बारेमा जानकारी गराए जसरी नै राजनीतिक चेतना फैलाउन जरुरी भएकोमा उहाँको जोड छ । कलाकारले जागरण गीतमार्फत तामाङ समुदायका समस्या उजागर गर्न जरुरी रहेको र प्रचार—प्रसारमा संचारक्षेत्रले सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।
- मोहन गोले तामाङ, अध्यक्ष, नेपाल तामाङ घेदुङ
नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले कार्यक्रममा नेपालको तामाङ समुदायको शिक्षा, गरिबी, आर्थिक राजनीतिक पाटोमा पटक— पटक कुरा उठायरहेको बताउनु भयो । अहिले तामाङको हक अधिकारको सवालमा त्यसमा पनि वाग्मती प्रदेश नेवा—ताम्सालिङको सवालमा केही कामहरु भए पनि सोचे अनुसार हुन नसकेको स्वीकार्दै शिक्षा कोषले आर्थिक अवस्था उकास्ने पाटोमा सोच्नुपर्ने सुझाव राख्नुभयो । मुख्य आन्दोलन राजनीतिलाई केन्द्रित गरेर आर्थिक र शैक्षिक पाटोमा लाग्न सके समाज परिवर्तनमा सहज हुने र घेदुङको तर्फबाट संचालन हुन लागेको शिक्षा कोषमा समर्थन जनाउनुभयो ।
- डा. मुक्तसिंह लामा, मानवशास्त्री
विश्वव्यापी शैक्षिक कोष संचालन बारेमा आफ्नो धारणा राख्दै डा. मुक्तसिंह लामाले अमेरिकामा रहेका तामाङ समुदायले आकस्मिक फण्डमार्फत काम गर्दै आए पनि योजनाबद्ध तरिकाले आफ्नो कामलाई अगाडि बढाउन लाग्नु नै उदाहरणीय काम भएको बताउनुभयो । नेपालमा भूकम्प, कोरोना महामारी हुँदै विभिन्न समस्यामा परेका तामाङ समुदायको लागि तामाङ समाज उत्तर अमेरिकाले सहयोग गर्दै आएको भन्दै शिक्षा कोष संचालन सिस्टोम्याटिक र एफोट हुने कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले तामाङ समाज परिवर्तनको लागि प्रत्येक घरमा एक जना कक्षा १२ पास गरेको छोरा/छोरी हुनुपर्ने भन्दै बोल्न, आफ्नो कुरा व्यक्त गर्ने हुँदा हेपिने सम्भावना कम हुने बताउनुभयो । कक्षा ८ सम्म सरकारले अनिवार्य र कक्षा १२ सम्म नि:शुल्क शिक्षाको व्यवस्था गरिएको हुँदा छात्रवृत्तिमार्फत काम गरिने भन्दा पनि संविधानमा लेखिएको नियम कानुनलाई सहयोग गर्ने खालको छात्रवृत्ति हुँदा राम्रो हुने उहाँको सुझाव छ । शैक्षिक कोषमार्फत छात्रवृत्ति दिँदा तामाङ समुदायलाई केही गर्ने खालको व्यक्तिलाई दिन सके समाजलाई फाइदा हुने उहाँको तर्क छ ।
अधिकांश तामाङ बालबालिका कक्षा ५—६ अध्ययनपछि विद्यालय छाड्ने समस्या भएकोले यस्ता खालका श्रमिक वर्गमा मात्रै अध्ययन भएको हुँदा विभिन्न शिविरमार्फत पनि शिक्षाको बारेमा जानकारी गराउन सकिने उहाँको भनाइ छ । रिसर्च, पत्रकारिता, कानुन, राजनीतिशास्त्रलगायत विषयमा अगाडि बढेका व्यक्तिले पनि तामाङ समुदायको अवस्था बुझेर अगाडि जानुपर्ने उहाँको धारणा थियो ।
- कुन्साङ लामा, वरिष्ठ अधिवक्ता
विश्वव्यापी शैक्षिक कोष २०२० अवधारण पत्रमाथि कानुनको तर्फबाट वरिष्ठ अधिवक्ता कुन्साङ लामाले सुझाव प्रदान गर्नुभएको छ । वरिष्ठ अधिवक्ता लामाले कोषको स्थापना नेपालमै गर्दा सहज हुने भनाइ राख्नुभयो । नेपालबाटै विभिन्न देशमा तामाङ समुदाय पुगेको हुँदा कानुनी रुपमा पनि कोष अन्य देशमा भन्दा नेपालमा संचालन गर्न सकेको खण्डमा सहज हुने उहाँको धारणा थियो । विदेशबाट रकम नेपालमा ल्याएर रिप्रेजेन्ट गर्न साझा रुपमा राख्नुपर्ने बताउनुभयो ।
निर्देशिकामा विश्वभरका तामाङ रहन सक्ने बारेमा उल्लेख गर्दै साधारणसभामा प्रतिनिधि पठाउने व्यवस्था राख्न सकिने उहाँको सुझाव छ । साथै शिक्षा कोष संचालनको लागि कानुनी रुपमा गर्नुपर्ने सहयोगमा सहकार्य गर्ने पनि बताउनुभयो ।
- टासी लामा, वरिष्ठ उपाध्यक्ष
अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले भावनात्मक रुपमा प्रवासमा रहेका तामाङ संघ संस्थाले सहयोग गर्दै आए पनि तामाङ समाज अफ नर्थ अमेरिकाले अघि सारेको शिक्षा कोषसम्बन्धी कार्यक्रम निकै महत्वपूर्ण भएको बताउनुभयो । शिक्षा कोष संचालनको सवालमा उहाँले कक्षा ८ सम्म अनिवार्य र कक्षा १२ सम्म नि:शुल्क शिक्षाको व्यवस्था नेपाल सरकारले गर्दै आएको हुँदा हाम्रो समुदायको बालबालिका विद्यालय गएको कही छैन भन्ने विषयमा खोज्न जरुरी भएको बताउनुभयो ।
सरकारको कार्यक्रमलाई सफल पार्न अथवा तामाङ समुदायको बालबालिकालाई विद्यालय उठाउनका लागि तामाङ समुदायको प्रतिनिधित्व गर्नुभएका राजनीतिक दल, नेपाल तामाङ घेदुङसँगै तामाङ समुदायको अग्रजहरुको कत्तिको प्राथमिकताका साथ हेर्नुभएको छ । त्यो सवालमा सोच्न जरुरी भएको उहाँको धारणा छ ।
प्रदेशगत रुपमा पनि शिक्षा तथा सामाजिक विकास मन्त्रालय रहेको हुँदा सरकारले लागू गरेको नीति नियमलाई तामाङ समुदायमा कत्तिको लागू भएको छ यो विषयमा पनि सोच्नु जरुरी भएको यी सवालहरुमा कोषलाई जोड्न सक्दा फाइदा हुने उहाँको भनाइ थियो ।
शिक्षा कोषमार्फत सबैको निम्ति शिक्षा अभियान नै संचालन गर्दै भोलेन्टियर परिचालन गरेर तामाङ समुदायको बालबालिकालाई विद्यालय पठाउने अभियान संचालन गर्नुपर्ने र लोक सेवामा पनि कोषको सहयोगमार्फत सहभागिता जनाउने कुरा राम्रो भएको लामाको सुझाव छ । तामाङ समुदायको शिक्षाको स्तर विकासको लागि तामाङ समुदाय पुगेको स्थानबाट पहल गर्न आग्रह गर्दै शिक्षा कोष संचालनमा अन्तर्राष्ट्रिय तामाङ परिषद्को पूर्ण समर्थन जाहेर गर्नुभयो ।
- लोक लामा, टिएसएनए, सल्लाहकार
तामाङ समाज नर्थ अमेरिकाका सल्लाहकार लोक लामाले संस्था तथा कार्यक्रम संचालन गर्दा पदको कुनै पनि लोभलालच नगरी काम गर्दा सफलता प्राप्त हुने बताउनुभयो । लोभलालच गर्ने र पदमा पनि आफै मात्रै बस्नुपर्ने र आफू अगाडी बढे पनि अरुलाई सहयोग नगर्ने प्रवृत्ति तामाङ विज्ञ व्यक्ति तथा अग्रजहरुमा भएको हुँदा पनि परिवर्तन नभएको आरोप लगाउनुभयो । साथै यहाँले राजनीतिले समाज परिवर्तन ल्याउने निश्चित भए पनि संस्थागत रुपमा राजनीति नगरी काम गर्न तामाङसम्बन्धी काम गर्ने विभिन्न संस्थाहरुलाई आग्रह गर्नुभयो ।
- डा संग्रामसिंह लामा, अधिकारकर्मी
डा संग्रामसिंह लामाले तामाङ समाजको क्षेत्रमा संचालन गरेका कार्यक्रमको समन्वय निकै फितलो भएको औंल्याउनुभयो । शिक्षा कोष संचालनमा पनि कार्यविधि र निर्देशिका स्पष्ट हुनुपर्ने भन्दै कार्यक्रमको दीगोपन र निरन्तरता कसरी बनाउने सवालमा पनि सोच्न जरुरी भएको उहाँको सुझाव थियो ।
- जय गोले, संयोजक, ताम्सालिङ संघर्ष समिति
कोषको सहयोग नेपालको तामाङलाई मात्रै नभई विश्वभरका तामाङ अध्ययन गर्न पाउनुपर्ने भन्दै उहाँले कोषले भाषा, संस्कार संरक्षणको पक्षमा पनि काम गर्न आग्रह गर्नुभयो । छात्रावृत्ति र विपन्न शब्द परिमार्जन गरेर अन्य विषयवस्तुलाई उल्लेख गर्नुपर्ने संयोजक गोलेको सुझाव थियो ।
शैक्षिक कोष अवधारणा माथिको छलफल कार्यक्रममा विभिन्न क्षेत्रबाट तामाङ समुदायको नेतृत्व गर्दै आउनुभएका व्यक्तिहरुले तामाङ समाज नर्थ अमेरिकालाई मिश्रित सुझाव दिनुभएको छ । तामाङ समाजको शिक्षामा भएको सहभागितालाई भावनामा भन्दा पनि कार्यान्वयनको पक्षमा जोड दिन छलफल कार्यक्रममा सहभागि प्रतिनिधिहरुको जोड थियो । आर्थिक पाटो विश्वका तामाङहरुको प्रमोसनको पाटो भएको हुँदा, कोषले सहयोग गरेको तामाङ समुदायका व्यक्तिले तामाङ समुदायमा नै काम गर्छ भन्ने ग्यारेन्टी भएको हुँदा तामाङ समुदायको हितमा काम गर्ने अन्य समुदायको व्यक्तिहरुले पनि कोषको सहयोग पाउने कि नपाउने भन्ने कुरा पनि स्पष्ट हुनुपर्ने सुझाव दिनुभएको छ । छलफल कार्यक्रममा प्राप्त सुझाव महत्वपूर्ण विषयवस्तुलाई कोष संचालनका क्रममा समेटिने अध्यक्ष लक्यान लामाले प्रतिबद्धता जनाउनुभएको थियो ।