काठमाण्डौ । सोमबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । प्रदेश २ को नाम मधेश, झाँक्रीका सय दिनमा ३७ बुँदे उपलब्धि,,एकैदिन ६ हजार बढीमा संक्रमण ,कोरोना भाइरसविरुद्धको बुस्टर डोज सुरु, सिंहदरबारको ग्यालेरी बैठक भवन पुनर्निर्माण गर्ने ,सेयर बजारमा दोहोरो अंकको वृद्धि लगायतका समाचार समेटेका छौं ।
१)
प्रदेश २ को नाम मधेश नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोज कुमार यादवले जानकारी दिनुभयो । कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गर्नुभएको थियो ।
२)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला तीन महिनाका अवधिमा आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन तथा श्रम प्रशासन सुधारमा उल्लेख्य सफलता हासिल गरेको जिकिर गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेयता श्रम क्षेत्रका समस्याका समाधान, वैदेशिक रोजगारीलाई व्यवस्थित र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधारको आधार तयार गरिएको बताइएको छ ।
सय दिनको अवधिमा आफूले सम्पादन गरेको कामबाट वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको मन्त्री श्रेष्ठले बताउनुभयो । गत असोज २२ गते श्रेष्ठ श्रममन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो । सो अवधिमा वैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक पहिल्याउने र ती मुलुकसँग श्रम सम्झौताको पहल गर्ने विषय निष्कर्षोन्मुख भएको मन्त्री श्रेष्ठको भनाइ छ ।
३)
पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ जनामा गरिएको नमुना परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।
४)
नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्न थालेसंगै सरकार बुस्टर डोजको तयारीमा लागि रहेको छ । काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबार देखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज सुरु भईसकेको छ। यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार तत्कालका लागि अग्रपंक्तिमा काम गर्ने नागरिकलाई बुस्टर मात्रा दिइने जनाएको छ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। बुस्टर डोज लगाउन जादा खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। माघ १४ गतेदेखि ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज प्रदान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
५)
शहरी विकास मन्त्रालयले सिंहदरबार स्थित ग्यालेरी बैठक भवनको पुनर्निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपेक्षामा परेको थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बि।सं। १९६५ सालमा सिंहदरबार बनाउँदा ग्यालेरी बैठक भवनपनि बनाउनुभएको थियो । २००४ सालदेखि भारदारीसभा बैठक सुरु भएको र प्रजातन्त्रपछि नेपालको पहिलो संसद भवनको रुपमा रहेको उक्त भवन भूकम्प गएको झन्डै ७ वर्षपछि पुनर्निर्माण हुने भएको हो । सोमबार शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सिंहदरबारको ग्यालेरी बैठक भवनको क्षतिको अवस्थाको जाँच भइसकेको र पुनर्निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
६)
सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ । लगातार बढ्दो क्रममा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ ।