काठमाण्डौ । बुधबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । पेट्रोलियम पदार्थको मूल्य बढयो,कोरोना संक्रमितको संख्यामा वृद्धि,कोरोना परीक्षण शुल्कमा एकरुपता भएन,पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोमा विरोध,४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक,,कांग्रेस महामन्त्री शर्मालाई कोरोना लगायतका समाचार समेटेका छौं ।
१)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजले, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो । मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन(आन्तरिक)को प्रतिलिटर रु १०६ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
२)
नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ७८ जनाको पिसिआर परिक्षण गर्दा ९ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ३३१ वटा एन्टिजेन विधिमार्फत परिक्षण गर्दा एक हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस ब्रिफिङ मार्फत जनाएको छ । २३ हजार ४ सय ९ परिक्षणमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका भित्र भक्तपुरमा ५७८, ललितपुरमा १ हजार ११९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जनामा कोरोना संक्रम पुष्टि भएको छ । देशभर गरिएको कोरोना परिक्षणमा कूल ५२.६ प्रतिशतमा संक्रमण देखिएको छ ।
३)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क परिमार्जन गरेको छ । मन्त्रालयले बुधवार प्रेस ब्रिफिङ मार्फत सरकारी र निजी प्रयोगशालाबाट कोरोना परिक्षणको नयाँ शुल्क तोकिएको हो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणकोदर बढ्दै गएपछि सरकारले आरटी पिसिआर परीक्षणको लागि शुल्क परिमार्जन गरिएको हो । अब सरकारी प्रयोगशालामा ८ सय रुपैयाँ र निजी प्रयोगशालामा एक हजार ५ सय रुपैयाँ शुल्क तोकिएको हो । यसअघि पीसीआरको शुल्क सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेष डा गुणराज लोहनीको संयोजकत्वमा गठित कोभिड १९ को रोकथाम, नियन्त्रण उपचार र अनुगमन सम्वन्धी समितिले पीसीआर नयाँ शुल्क तोक्न सिफारिस गरेको थियो ।
४) कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । सरकारले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा सरोकारवालाले विरोध जनाएका हुन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गर्नुभयो । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद बन्द नहुने तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक लयाएको भन्दै प्रश्न गर्नुभयो ।
न्यौपानेले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाउनुभयो । चर्चमा २५ जना मात्रले प्रार्थना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गर्नुभयो । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाइ छ ।
५)
सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न पाउने व्यवस्था गरेसँगै ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण गराएका हुन् । वर्षैदेखि नवीकरण नभएका कम्पनीले सो अवधिमा छुट दस्तुर बुझाएर नवीकरण गराएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ । सरकारले कम्पनी ऐन–२०६३ तथा प्राइभेट रजिष्ट्रेशन ऐन–२०१४ अनुसार आर्थिक वर्ष २०७५÷७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले विसं २०७८ पुस मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिएको थियो ।
६)
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्माको बुधवार नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो । पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त हुनुभएको थियो । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा हुनुहुन्छ ।