काभ्रेपलाञ्चोक । चन्दा संकलन गरी काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-८ टेकानपुरमा करिब १ करोड लागतमा गुम्बा निर्माण गरिएको छ ।
पत्रकार जगतमान लामा (दोङ) को अगुवाइमा 'उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा भवन निर्माण गरिएको हो । दोङको अध्यक्षतामा १७ सदस्यीय गुम्बा निर्माण समिति बनाएर २०७७ पुस २० गतेदेखि निर्माण थालिएको थियो ।
हालसम्म गुम्बाको मूल भवन निर्माण सकिएको र अबको एक हप्तापछि मूर्ति बनाउन थालिने अभियन्ता दोङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बामा गुरु रिम्पोचेको मूल मूर्ति र सानो आकारमा बुद्धमूर्ति रहनेछन् । त्यस्तै लामा बस्ने घर, ध्यान केन्द्र, पुस्तकालय, खोर्लो, छ्योर्तेन, स्वास्थ्य केन्द्र, भान्सा कोठा र कम्पाउन्डलगायत संरचना निर्माणको तयारी भइरहेको छ ।
'तेमाल विशेषगरी गुरु रिम्पोचेको तपोभूमि भएकोले गुम्बामा उहाँको मूल मूर्ति बनाउँदैछौं । सँगसँगै बुद्धको पनि सानो मूर्ति राख्नेछौं । मूर्ति निर्माणको काम यो हप्ताभरिमा सुरु गर्ने तयारी छ,' दोङले भन्नुभयो, '६ महिनाभित्र गुम्बामा बुट्टा राख्नेदेखि मूर्तिहरुको काम सकाउने योजना छ ।'
गुम्बा निर्माण गरिएको जग्गा पनि दोङ परिवारले नै दान गरेको हो । उहाँका आमा च्याम्पु पाख्रिन र बुबा गुन्जमान दोङबाट २ रोपनी १५ आना जग्गा दान प्राप्त भएपछि निर्माण सुरु भएको १ वर्षमा गुम्बाको मूल भवन बनाउने काम सकिएको हो । अमेरिकावासी दाइ सिंहमान लामाबाट ५ हजार डलर र कुमार दोङबाट ३ हजार डलर सहयोग प्राप्त भएपछि गत वर्ष जग खन्न सुरु गरिएको थियो ।
गुम्बाको संरचना तयार पार्न अझै पनि देश-विदेशबाट सहयोग संकलन जारी रहेको उहाँले जानकारी दिनुभयो । 'देश-विदेशका दाताहरुबाट २ हजार, ५ हजार, १० हजार रुपैयाँ गरेर अहिलेसम्म ८० लाख हाराहारीमा सहयोग उठेको छ । सबै खर्च भइसक्यो । हाम्रो टार्गेट १ करोड ५० लाख रुपैयाँ हो । त्यसले पनि नपुग्ला-नपुग्ला कि जस्तो छ । काम जारी छ, दुई करोड भएमा सबै संरचना तयार हुने अनुमान छ', उहाँले भन्नुभयो ।
अमेरिकामा रहेका आफ्नो दाइ कुमार दोङको पहलमा सबभन्दा बढी ३० लाख हाराहारीमा सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । कुमार दोङले गुम्बाको निर्माण प्रक्रियामा ठूलो सहयोग गरेको पत्रकार दोङको भनाइ छ । 'अमेरिकाबाट झन्डै ३० लाख रुपैयाँ मेरो माइला दाइ कुमारले व्यक्तिगत रुपमा संकलन गरेर पठाउनुभएको हो । उहाँले आर्थिक संकलनदेखि सबै खालका 'व्याकअप' दिनुभएको छ । त्यो बाहेक सानो-सानो रकम उठाएर ८० लाख रुपैयाँ पुर्याएका हौं ।'
अभियन्ता दोङका अनुसार सबभन्दा ठूलो रकम आफ्नो ठूलो बाबुका छोरा दाइ सिंहमान लामाबाट ५ हजार डलर र कुमार दोङबाट ३ हजार डलर गुम्बाका लागि सहयोग भएको छ । यो रिपोर्ट तयार पार्दासम्म सिंहमान लामा, भोजकुमार दोङ/तीर्थ दोङ, रामकुमार घिसिङ, गोपाल घिसिङ, बेन लामा, प्रेम तामाङ थोकर, शेर लामा, सुकदेव तामाङ, लालमान काल्तान, आयुस लामा, सुरज पाख्रिन, टिजे छन्त्याल, प्रेम लामालगायत करिब ४ सय जनाले अभियानमा सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
उक्त ठाउँमा गुम्बा निर्माणको सोच तीन दशक पहिलेदेखि नै बने पनि ०७७ पुसमा मात्र मूर्तरुप लिएको उहाँको भनाइ छ । गुम्बालाई यो रुप दिन दाइ कुमार दोङको ठूलो देन रहेको अभियन्ता दोङले सुनाउनुभयो । 'गुम्बा बनाउने कुरा दुई/तीन दशकदेखि नै उठेको हो । दाइले अमेरिकामा बस्दा खुत्रुकेमा जसरी क्वाइन जम्मा गर्न थाल्नुभएछ । तीन वर्ष जतिमा गत वर्ष ३ हजार डलर पुगेछ । त्यसपछि मलाई भन्नुभयो, गाउँमा गुम्बा बनाउने कुरा छ, बनाउने भए म गुम्बामा दिन्छु नत्र कतै पठाउँछु,' दाइको भनाइ भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, 'मैले अन्त हैन, गुम्बामा लगानी गरौं, म नेतृत्व लिन्छु भनेँ ।' कुमार दोङ र सिंहमान लामाकै पहिलो सहयोगबाट गुम्बा बनाउने काम सुरु गरिएको थियो ।
टेकानपुरमा पहिलो गुम्बा आफ्नो पहलमा निर्माण गरिएको जनाउँदै अभियन्ता दोङले सरकारी निकायबाट अहिलेसम्म कुनै सहयोग नभएकोमा गुनासो गर्नुभयो । 'अहिलेसम्मको स्थितिमा सरकारी निकायबाट एक रुपैयाँ पनि पाएका छैनौं । गाउँपालिकाले यसपाली अलिकति बजेट दिने कुराकानी त छ तर सम्झौता भइसकेको छैन,' उहाँले थप्नुभयो, 'पालिकामा पनि राजनीतिक दलहरुबीच झगडा भएकोले बजेट स्वीकृत भएको छैन । १३ लाख रुपैयाँ दिने कुरा छ ।'
काठमाडौंबाट ७५ किलोमिटर दूरीमा रहेको तेमाल तामाङ जातिको आदिमथलो एवं ऐतिहासिक थातथलोको रुपमा परिचित छ । तेमालको गेलोङ ऊमा पद्मसंभव गुरु रिम्पोछेले तपस्या गर्नुभएको थियो । रिम्पोछेको मूर्ति रहने गुम्बा निर्माणले बौद्ध धर्म, दर्शन संस्कृतिको संरक्षण र प्रवर्द्धन हुने अभियन्ता दोङको विश्वास रहेको छ । त्यस्तै गुम्बासँग सरोकार रहेका स्थानीय बासिन्दाहरुको जीवनस्तर अभिवृद्धिका लागि सीपमूलक विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्ने र गुम्बालाई स्वाबलम्बी बनाउन सघाउ पुर्याउने, गुम्बालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न विभिन्न प्रवर्द्धनात्मक कार्य गर्ने उद्देश्य पनि आफूहरुको रहेको उहाँले बताउनुभयो ।
गुम्बा निर्माण सकिएपछि गुरु रिम्पोछेको जन्मतिथि हेरेर उद्घाटन गर्ने तयारी पनि रहेको उहाँको भनाइ छ ।