घलेभञ्ज्याङ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा निर्माण हुने रणनीतिक सडक साझा सवाल भएकोले कोही भ्रममा नपरी अघि बढ्न आग्रह गर्नुभएको छ ।
निर्वाचन क्षेत्रीय रणनीतिक सडकको लम्बाई १५ किलोमिटर हुने सरकारी नीति र दुप्चेश्वरका बासिन्दालाई काठमाडौंको पहुँचमा जोड्न खोज्दा शिवपुरी गाउँपालिकाको वडा नम्बर ७ छुट्न गएकोले कुनै द्विविधा र भ्रममा नपर्न स्थानीय र सरोकारवालाई उहाँले आग्रह गर्नुभएको हो ।
भिडियो :
काठमाडौं प्रवेश नाका शिवपुरीको सुनखानी सडक खण्ड छाडेर बीचमा भागमा निर्माण गर्न लागिएको भन्दै बिहीबार सांसद निवास चण्डोल पुगेका विभिन्न पार्टी र स्थानीयसँगको प्रतिनिधिमूलक भेटमा तामाङले पञ्चकन्या गाउँपालिका-५ को कुण्डला माध्यमिक विद्लायलाई बाध्यताले जिरो प्वाइन्ट मान्नु परेकोले त्यसलाई निर्माण अघि बढाउन र ढलान घर-स्याल्पिङ खोला-बरभञ्ज्याङलाई आगामी वर्ष जसरी पनि बजेट पार्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले दुप्चेश्वर गाउँपालिकाबाट कुण्डला माविसम्म आउने जनतालाई काठमाडौं जोड्न सुनखानी-ढलान घर सडक खण्ड पायक पर्ने र स्थानीय जनसमुदाय तथा निर्वाचित जनप्रतिनिधिहरुको महत्वपूर्ण सरोकार रहेकोले नयाँ बजेटमा सम्बोधन गर्न आफूले कुनै कसर बाँकी नराख्ने पनि प्रतिबद्धता जनाउनुभयो ।
'अब यसलाई आगामी आर्थिक वर्षको बजेटमा सकभर संघीय सरकारबाट नै बजेट पार्न हदैसम्मको प्रयत्न गर्ने, कथंकदाचित नसके वाग्मती प्रदेश सरकारको तर्फबाट भए पनि बहुवर्षीय योजना पार्ने भनेर सम्बन्धित व्यक्तिहरुसँग कुरा गरेको छु,' उहाँले थप्नुभयो, 'त्यो क्षेत्रको निर्वाचित प्रदेशसभा सदस्यको हैसियतले अहिलेको वाग्मती प्रदेशको उपसभामुख राधिका तामाङज्यूसँग पनि मैले यो विषयमा कुरा गरेको छु । बजेट छुट्याउने बेलामा वाग्मती प्रदेश सरकारसँग पनि कुरा गर्नेछौं ।'
क्षेत्रीय रणनीतिक सडक निर्माण साझा सवाल भएकोले सबैले समान अपनत्व लिने गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 'यो सडक खण्डलाई वारि र पारिको दृष्टिले नहेरौं । साझा मुद्दा हो । साझा सवाल हो । सबैले समान अपनत्व लिने हिसाबले कुण्डला-समुन्द्रटार खण्डलाई तत्काल निर्माण कार्य अगाडि बढाउनका निमित्त सबैले सहजीकरण गरौं,' उहाँले भन्नुभयो, 'सुनखानी-स्याल्पिङ खोला-बरभञ्ज्याङ खण्डलाई चाहिने अर्को बजेटका लागि संयुक्त रुपमा लागौं । यसमा कोही भ्रममा नपर्न म अनुरोध गर्छु ।'
रकमान्तर गरेको बजेटभन्दा सुनखानी-स्याल्पिङ खोला सडकलाई शीर्षकमै कायम गर्नुपर्नेमा आफ्नो जोड रहने सांसद तामाङले बताउनुभयो । एउटा निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक निर्माण गर्ने नेपाल सरकारको नीतिअनुसार सांसद तामाङले आफ्नो निर्वाचन क्षेत्रमा प्रस्तावित शिवपुरी गाउँपालिका-७ ढलानघर-स्याल्पिङ खोला, बरभञ्ज्याङ, शिवालय-घलेभञ्ज्याङ हुँदै भ्याङ्ले-समुद्रटारसम्मको सडकलाई बहुवर्षीय योजनाअन्तर्गत ४० करोड रुपैयाँ बजेट परेको छ । जुन बजेटबाट कुण्डला माविबाट घलेभञ्ज्याङ-आरुखर्क-भ्याङले जोड्ने करिब १५ किलोमिटर कालोपत्रेसहित सडक निर्माण गरिने छ । उक्त सडक योजना निर्माणका लागि टेण्डर खुलाउने प्रक्रिया अगाडि बढिसकेको सांसद तामाङले जानकारी दिनुभयो ।
सांसदसँगको भेटमा नेकपा (माओवादी केन्द्र) शिवपुरीका सचिव वीरबहादुर तामाङ, नेपाली कांग्रेस शिवपुरी ७ का सभापति मुकुन्द पाण्डे, नेता नवराज भेटुवाल, नेकपा (एकीकृत समाजवादी)का ज्ञानबहादुर तामाङ, नेकपा (माओवादी केन्द्र) शिवपुरी-७ का वडा सचिव विनोद कँडेल, नेता वीरबहादुर तामाङ, स्थानीय व्यवसायी सुरेन्द्र पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।