काठमाडौं । शुक्रबार दिनभरिका मुख्य घटनाक्रम समेटेर तयार पारेको प्याकेज समाचार । यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि समेटिएका छन् । निर्वाचनको पूर्वतयारी गर्न आग्रह,थप १० हजार ७०३ कोरोना संक्रमण पुष्टि, जोरबिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालयलाई सुझाव, कांग्रेसको जिल्ला अधिवेशन स्थगित,भारतमा एकैदिनमा थप साढे तीन लाख सङ्क्रमित लगायतका समाचार समेटेका छौं ।
१)
प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै पाँच दलीय सत्तागठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गर्नुभएको भन्दै उहाँले कुनै प्रतिक्रिया दिनुभएन । तर, एक वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले पूर्वतयारी गर्न सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको पनि बताउनु भएको छ ।
२)
सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । नेपाली युवायुवती भिजिट भिसामा खाडीका मुलुक र मलेसियामा पुगी विभिन्न गतिविधिमा संलग्न हुने गरेका छन् ।
३)
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार सूचनाजारी गर्दै २३ हजार ९३ जनाको कोरोना परिक्षण गरिएको मध्ये १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हाल सम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ । २४ घण्टामा कोरोना निको हुनेको संख्या ७६६ जना रहेको छ । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् । हाल सम्म नेपालमा कोरोना निको हुनेको दर ८ लाख १९ हजार ५७५ रहेको छ । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ ।
४)
यातायात व्यवसायीहरुले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो । छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरूको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् । सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ ।
५)
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली, र अछामको अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि हाललाई स्थगन गरिएको जनाएको छ । यही माघ १५ गते गर्ने भनिएका उक्त जिल्लाको जिल्ला अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी हाललाई स्थगित गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । सङ्क्रमण जोखिम न्यूनीकरण भएर आम जनजीवन सामान्य बन्दै गएपछि उक्त जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने उहाँले जानकारी दिनुभयो ।
६)
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन । दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७।९७ प्रतिशतको दरले वृद्धि भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन विहीवार सार्वजनिक गरिएको तथ्याङ्कको तुलनामा शुक्रबार सार्वजनिक गरिएको विवरणमा
सङ्क्रमितहरूको सङ्ख्या २९ हजार ७२२ बढी रहेको छ ।
अघिल्लो दिन भारतमा तीन लाख १७ हजार ५३२ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । सङ्क्रमितहरूको सङ्ख्यामा साप्ताहिक रुपमा १६.५६ प्रतिशतले वृद्धि भएको पाइएको पनि अधिकारीहरूले जनाएका छन् ।